सेलिब्रेटी चाहिए सिलवाललाई मत दिनू, विकास र समृद्धि चाहिए मलाई भोट दिनू : उदयशमशेर राणा


कार्तिक २०, काठमाडौँ । ललितपुर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशमशेर राणाले विकास र समृद्धिका लागि आफूलाई मत दिन आग्रह गरेका छन्।

सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता राणाले आफ्ना मतदातालाई विकास र समृद्धिका लागि आफूलाई भोट दिन आग्रह गरेका हुन्।
चुनावी कार्यक्रममा मतदातालाई उनले भने, ‘सेलिब्रेटी चाहिए नवराज सिलवाललाई मत दिनु। तर, विकास र समृद्धि चाहिएको हो भने मलाई भोट दिनु।’

आफ्नो प्रमुख उद्देश्य विकास रहेको र विकासमा पनि सडकसहितको पूर्वाधारमा जोड रहने बताएका उनले २०७४ सालको निर्वाचनपछि कति विकास भयो र त्यसअघिका विकासका पूर्वाधारको मर्मत कति भयो यसबारे चासो राख्नुपर्नेमा जोड दिए।

निवर्तमान सांसद सिलवालले सडकसहितका पूर्वाधार मर्मतमा समेत चासो नदेखाएको र सेलिब्रेटीमात्र बन्न खोजेको आरोप लगाएका उनले सेलिब्रेटी बनेर जनताको समस्या समाधान नहुने बताए।

कोरोना महामारीमा जनतालाई बेवास्ता गरेका सिलवाल अहिले किसानको खेतमा पुगेर सेलिब्रेटी बन्न खोजेको राणाको आरोप छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?