सम्पादकीय : गलत प्रवृत्तिहरुको उजागर र सत्प्रयासहरुको प्रोत्साहन !


सन् २०१२ मा स्थापना भई अष्ट्रेलियामा बस्ने नेपालीसहित नेपाल बाहिर रहेका लाखौंको पक्षमा अनवरत उभिने माई नेपाल टेलिभिजन एमएनटीभी अष्ट्रेलियाको उद्देश्य समाजमा रहेका गलत प्रवृत्तिहरुको उजागर र सत्प्रयासहरुको प्रोत्साहन नै हो । हामीले हाम्रो यो कर्तव्य निर्वाहको सिलसिलामा कैयौं आरोह अवरोहहरु देखेका छौं ।

विशेषतः पछिल्लो समय नेपाली समूदायको नै बदनाम गर्नेगरी केही माईग्रेसन एजेन्टहरुले नियम कानून विपरितका गतिविधि गरेको र यस्तो कार्यका विषयमा उजुरी समेत परी सम्बन्धित नियमनकारी निकायबाट छानविन पश्चात कारवाही गरेको विषयमा प्रकाशित समाचारलाई लिएर यस समाचारसँग असम्बन्धित पक्षहरु, पाठक, सामाजिक सञ्जालमा पोष्ट शेयरकर्ताहरुलाई निज व्यक्तिले धम्की दिने, पोष्टहरु नहटाए डिफेमेसनको केस हाल्छु भन्दै धम्क्याउने गरेको हाम्रो जानकारीमा छ । हामीले पनि निजको तर्फबाट यस्तै भाषाको पत्र प्राप्त गरेका छौं ।

हामी हाम्रो समाचारप्रति अविचलित छौं, समाजमा रहेका खराब प्रवृत्तिका विरुद्ध चट्टानी रुपमा अडिग रहने हाम्रो नीति छ । कानूनी पाटो, कानून भएको देश अष्ट्रेलियाको कानून अनुसार नै सल्टाइनेछ । कुनैपनि व्यक्तिलाई धम्क्याउनु, गाली गलौज गर्दाको परिणाम के हुन्छ त्यो पनि सम्बन्धितहरुले विचार गर्नैपर्दछ ।

यस्ता गलत प्रवृत्तिको विरुद्ध नागरिक समाज, सामाजिक, सामूदायिक संघसंस्थाहरु, नेपाली दूतावास लगायतले पनि आफ्नो कित्ता प्रष्ट गर्नुपर्दछ भन्ने हाम्रो आग्रह छ ।

यदि समाचारमा कुनै असहमति भए त्यसलाई मर्यादित भाषामा राख्न सकिन्छ । यसलाई कसैले पनि अन्यथा लिन मिल्दैन । तर, कुनैपनि पेशामा रहेपछि त्यसको मर्यादामा रहनु, नीति नियम र कानूनको पालना गर्नु सबैको दायित्व हो । हामी सत्यको पक्षमा कहिल्यै विचलित हुने छैनौं । गलत प्रवृत्तिलाई दूरुत्साहन गरौं ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?