विविध कार्यक्रम गरियो, कार्यवाहक गृहमन्त्री पाण्डेबाट प्रहरी बलिदानको स्मरण


परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले देशमा शान्ति सुव्यवस्था र अमनचैन कायम गर्न नेपाल प्रहरीको महत्वपूर्ण भूमिका भएको बताउनुभएको छ । प्रहरी दिवस–२०७१ को अवसरमा नेपाल प्रहरीद्वारा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जलि कार्यक्रममा उहाँले देशका कैयौँ अप्ठ्यारा घडीमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका सह्रानीय भएको बताउनुभयो । गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पाण्डेले भन्नुभयो, “राष्ट्रको कानुन कार्यान्वयन गर्ने संस्थाका रूपमा आफ्नो जिम्मेवारीलाई आत्मसात् गर्दै आएको प्रहरी सङ्गठनका कर्मचारीले कर्तव्य पालनाको सिलसिलामा गरेको योगदान तथा बलिदान शब्दमा व्यक्त गर्न सकिँदैन ।” मुलुक संविधान निर्माणका माध्यमबाट समृद्ध बन्ने महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै उहाँले संविधान निर्माणका सन्दर्भमा आउने जस्तासुकै चुनौतीको सामना गर्न नेपाल प्रहरी सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीको सङ्गठनलाई समयसापेक्ष रूपमा सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उहाँले नेपाल सरकार त्यसका लागि सदैव लागिपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कर्तव्य पालनाका सिलसिलामा बलिदान गर्ने अमर तथा वीर प्रहरी देश र जनताका सच्चा सेवकका प्रतिमूर्ति रहेको बताउँदै यस्ता वीर सपूतहरूको वीरगाथाले नेपाल प्रहरीको गौरवपूर्ण इतिहास भरिएको बताउनुभयो । उनान्साठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी कल्याणकारी कोषमार्फत प्रहरी कल्याणकारी योजनालाई अझ प्रभावकारी बनाउने, ७० वर्ष पूरा गरेका पूर्व प्रहरी कर्मचारीको कदरस्वरूप पुरुष प्रहरी कर्मचारीका लागि मासिक रु ७०० र महिला कर्मचारीका लागि रु एक हजार कल्याण कोष निवृत्तिभरण उपलब्ध गराउनेलगायतका कार्यक्रम अघि सारिएको उहाँले बताउनुभयो । सो अवसरमा अमर प्रहरी स्मारकमा मन्त्री पाण्डे, महानिरीक्षक अर्याल, अमर तथा वीर प्रहरीका परिवार तथा अतिथिहरूबाट पुष्पगुच्छा अर्पण गरिएको थियो । उक्त अवसरमा कर्तव्य पालनाका सिलसिलामा वीर गति प्राप्त गरेका प्रहरी कर्मचारी कुमार बुढाथोकीलाई मरणोपरान्त सम्मान गरिएको थियो भने उहाँकी श्रीमती शान्ति बुढाथोकीलाई कदरपत्र, एवम् नेपाल प्रहरी श्रीमती सङ्घका तर्फबाट राहत सहयोग प्रदान गरिएको थियो । त्यस्तै प्रहरी दिवसका अवसरमा आयोजित माध्यमिक विद्यालयस्तरीय राष्ट्रव्यापी कविता प्रतियोगिता–२०७१ मा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरू क्रमशः स्वस्थिक घिमिरे, स्वीकृति खत्री र अर्चला लामिछानेलाई कदरपत्र प्रदान गरिएको थियो भने इमान्दार ट्याक्सी चालकका रूपमा दिनेश केसी, लेखक उज्ज्वल जिसी र साहित्यकार कृष्णजीवी घिमिरेलाई पनि सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?