अपराध अनुसन्धानमा उत्कृष्ट कुकुर पुरस्कृत


काठमाडौँ । नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ ।

यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा महाराजगञ्जमा आज आयोजित कार्यक्रममा महाशाखाकी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा देउती गुरुङले कुकुर पुजा एवं पुरस्कृत गरेका हुन् ।

यस वर्ष अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, हाइजम्पतर्फ उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ उत्कृष्ट हुने कुकुर ‘कालु’ लाई पुरस्कृत गरिएको छ ।

सोही अवसरमा यसवर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई समेत एसएसपी गुरुङले पुरस्कार प्रदान गरे। कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारी र कुकुरले हातहतियार तथा विष्पोटक पदार्थको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्धारलगायत कार्यको प्रदर्शनी गरिएको थियो ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र परिणाममुखी बनाउने उद्देश्यले विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोजकार्यमा तालिम प्राप्त कुकुरको प्रयोग हुँदै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?