क्विन्सल्याण्डद्वारा न्यु साउथ वेल्ससँगको सिमाना बन्द गर्ने घोषणा

मेलबर्न, अष्ट्रेलिया । क्विन्सल्याण्डले न्यु साउथ वेल्ससँगको सिमाना बन्द गर्ने घोषणा गरेको छ । न्यु साउथ वेल्समा कोरोना संक्रमण बढ्दै गएपछि संक्रमण क्विन्सल्याण्डमा फैलिन नदिन सिमाना बन्द गरिएको प्रिमियर अन्नास्तासिया पलास्जुकले जानकारी दिएकी छन् ।

पलास्जुकका अनुसार शुक्रबार बिहान १ बजेदेखि सिमा नाका बन्द गरिनेछ । पलास्जुकले कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा सिमा बन्द गर्ने कदम चाल्नु आवश्यक भएको ट्वीटरमा उल्लेख गरेकी छन् ।

अहिले न्यु साउथ वेल्स कोरोनाको हटस्पट भइरहेको छ ।

क्विन्सल्याण्ड र न्यु साउथ वेल्सको सिमा क्षेत्रमा बस्नेहरू अत्यावश्यक सामग्री किनमेल, हेल्थकेयर, शिक्षा र अशक्त व्यक्तिहरूको हेरचाह गर्ने कामका लागि मात्रै क्विन्सल्याण्डमा प्रवेश गर्न पाउनेछन् । त्यस्तै, क्विन्सल्याण्डमा बस्नेहरू पनि सोही मापदण्ड अनुसार सिमा नाकासम्म जान सक्नेछन् ।

त्यसैगरी, क्विन्सल्याण्डमा बस्ने व्यक्तिहरू अन्य राज्यबाट फर्किँदा १४ दिनको होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने बताइएको छ ।

न्यु साउथ वेल्समा २४ घण्टाको अवधिमा १२४ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएपछि क्विन्सल्याण्डले न्यु साउथ वेल्ससँगको सिमा बन्द गर्ने घोषणा गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?