ब्रिसबेनले ओलम्पिक २०३२ आयोजना गर्ने

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको ब्रिसबेनले ओलम्पिक २०३२ आयोजना गर्ने भएको छ । बुधबार इन्टरनेशनल ओलम्पिक कमिटीका पदाधिकारीहरूले सन् २०३२ को आयोजना ब्रिसबेनले गर्ने आधिकारिक घोषणा गरेका हुन् ।

ब्रिसबेनमा ओलम्पिक आयोजना गर्ने पक्षमा ७२ भोट परेको थियो । जम्मा वैध ७७ भोटमध्ये ७२ भोट ब्रिसबेनको पक्षमा परेको थियो ।

टोकियोमा बसेको आइओसी बैठकले यो घोषणा गरेको हो ।

ब्रिसबेनलले ओलम्पिक आयोजना गर्नका लागि ग्रिन सिग्नल पाएपछि क्विन्सल्याण्डकी प्रिमियर अन्नास्टासिया पलास्जुक अत्यन्तै उत्साहित भएकी थिइन् । त्यस्तै, अष्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसन पनि खुसी हुँदै घर फर्किएका थिए ।

ओलम्पिक २०३२ आयोजना गर्ने शहर छनाैटका लागि भएको भोट भन्दा पहिले अष्ट्रेलियन ओलम्पिक कमिटीका प्रमुख जोन कोट्स, प्रधानमन्त्री स्कट मोरिसन र क्विन्सल्याण्डकी प्रिमियर पलास्जुकले खेलकुद संरचना, खेल मनोवृत्ति, दीर्घकालिन योजना र आर्थिक सक्षमताको बारेमा प्रस्ट पारेका थिए ।

उक्त प्रस्तुतिमा प्रिमियर पलास्जुकले हालै आश बार्टीले विम्बलडनको उपाधि जितेको बारेमा पनि उल्लेख गरेकी थिइन् । उनले क्विन्सल्याण्डमा देशकै सबैभन्दा ठूलो स्विमिङ पुल रहेको पनि जानकारी गराएकी थिइन् ।

कतारले पनि सन् २०३२ को ओलम्पिक आयोजना गर्नका लागि इच्छापत्र दर्ता गराएको थियो । त्यस्तै, दक्षिण कोरिया र उत्तर कोरिया पनि संयुक्त रूपमा ओलम्पिक आयोजना गर्ने प्रतिस्पर्धामा थिए ।

अष्ट्रेलियाले मेलबर्नमा १९५६ र सिड्नीमा २००० गरि २ पटक ओलम्पिक आयोजना गरिसकेको छ । सन् २००० मा सिड्नीमा आयोजना ओलम्पिकलाई खेल इतिहासकै सफल खेलमध्येमा लिइन्छ ।

२०३२ को ओलम्पिकले ब्रिसबेनको अन्तरराष्ट्रिय छवी बढाउने र पर्यटनका लागि थप आकर्षणको केन्द्र हुने अपेक्षा अष्ट्रेलियाले गरेको छ ।

photo credit : Google

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?