चौध सय वर्ष पुराना सामग्री डिजिटलाइज्ड, भावी पुस्ताका लागि साँच्ने कोसिस


नेपालको पुरानो र ऐतिहासिक पुस्तक तथा सामग्री पाइने केशर पुस्तकालयमा रहेका करिब ६० हजार हस्तलिखित ग्रन्थ डिजिटलाइज्ड भएका छन् ।

ऐतिहासिक र पुरातात्विक महत्वका कतिपय पुस्तकलाई आधुनिक प्रविधिमा जीवन्त बनाउन पुस्तकालयले सो कार्य पूरा गरेको पुस्तकालयका प्रमुख जानकी कर्माचार्यले बताउनुभयो । ती हस्तलिखित करिब १४ सय वर्ष पुराना मानिएका छन् । जर्मन हस्तलिखित ग्रन्थ परियोजनाको सहयोगमा सो कार्य पूरा भएको हो । हस्तलिखितका साथै एल्बम, तस्बिर पनि परियोजनाअन्तर्गत पर्छन् । उहाँका अनुसार डिजिटलाइज्ड सामग्रीलाई पाठकले आफ्नो सुविधानअनुसार प्रयोग गर्न पाउनेछन् । पुस्तकालयले अन्य पुस्तक र सामग्रीलाई डिजिटलाइज्ड गर्नका लागि भने बजेट अभाव भएको जनाएको छ । केशरमहलस्थित सो पुस्तकालयमा हाल दैनिक करिब एक सय पाठक हुने गरेका छन् ।

प्रमुख कर्माचार्यले सरकारले नयाँ पुस्तक खरिदका लागि वार्षिक करिब रु चार लाख मात्र दिने भएकाले सोचेजति नयाँ पुस्तक जम्मा गर्न नसकिएको तथा आवश्यक मात्रामा फर्निचर नभएको गुनासो गर्नुभयो । विसं १९६५ मा केशरशमशेर राणाले व्यक्तिगत रूपमा स्थापना गरेकोे सो पुस्तकालय पछि सरकारका नाममा हस्तान्तरण गरिएको थियो । पुस्तकालयलाई हाल शिक्षा मन्त्रालयले सञ्चालन गरिरहेको छ । केशरशमशेर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका छोरा हुनुहुन्छ । विसं २०२६ देखि सो पुस्तकालय सार्वजनिक रूपमा खुला गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]