नेपालमा लगानी गर्नेबारे क्यनेडियन लगानीकर्तासँग अर्थमन्त्रीको भेट


अर्थमन्त्री डा रामशरण महत र क्यानाडाका लगानीकर्ताहरूबीच नेपालमा लगानी गर्नेबारे छलफल भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटघाटमा अर्थ मन्त्री डा महतले नेपालमा लगानी गर्ने स्वदेशी वा विदेशी लगानीकर्ताहरूलाई पनि कर छुट दिएर प्रोत्साहन गरिएको जानकारी दिनुभयो । अर्थ मन्त्री महतले भन्नुभयो¬, रु एक अर्बभन्दा बढी पुँजी लगानीमा स्थापना हुने उत्पादनमूलक उद्योग र रु दुई अर्बभन्दा बढी पुँजी लगानीमा स्थापना हुने पर्यटनसँग सम्बन्धित उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्णरूपमा र त्यसपछिको तीन वर्षसम्म ५० प्रतिशत आयकर छुट दिएर उद्योगहरूलाई प्रोत्साहन गरिएको छ । नेपालमा कृषि ऊर्जा, पर्यटन तथा सडक निर्माणलाई प्रोत्साहन दिइएको चर्चा गर्दै अर्थमन्त्री महतले ती क्षेत्रमा लगानी गर्न चाहेमा सरकारले आवश्यक सबै किसिमका सहयोग गर्ने जानकारी दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्री डा महतले नेपालमा लगानीका लागि सरकारले हदैसम्मको लचिलो नीति लिएको उल्लेख गर्दै अन्य मुलुकका लगानीकर्ताहरू पनि नेपालमा संयुक्त लगानीका लागि अध्ययन गर्न आइरहेको र सरकारले लगानीका लागि आवश्यक पर्ने कानुनी र भौतिक पूर्वाधार पनि तयार गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालमा लगानी गर्दा दक्षिण एसियामात्र होइन अमेरिका र युरोपको ठूलो बजार पनि प्राप्त गर्न सकिने उल्लेख गर्दै उहाँले नेपालमा उत्पादन हुने वस्तुलाई यी क्षेत्रमा भन्सार छुटको व्यवस्था भएकाले उत्पादित वस्तु प्रतिस्पर्धी हुने बताउनुभयो । उहाँले केही हप्ताभित्रै काठमाडौँ–निजगढ द्रुतमार्गको बोलपत्र हुने जानकारी दिँदै त्यसमा सहभागी हुन पनि क्यानाडाका लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । नेपालको यातायात क्षेत्रमा उच्च महत्व राख्ने यो द्रुतमार्गको निर्माणका लागि निजी क्षेत्र नआएमा सरकार आफँैले पनि कार्यान्वयन गर्ने तयारी गरिरहेको छ । क्यानाडाका लगानीकर्ताहरूले आफूहरू बैंक, ऊर्जा, पर्यटन, फोहरमैला व्यवस्थापनजस्ता क्षेत्रमा आकर्षित भएको बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]