सैनिक अस्पताल अब सर्वसाधारणका लागि पनि.


सर्वसाधारण जनताले पनि सैनिक अस्पतालमा सेवा पाउने भएका छन् । करिब ४२ वर्षको अन्तरालमा नेपाली सेनाले सर्वसाधारण जनताका लागि अस्पताल खुला गर्न लागेको हो । हाल बहालवाला सैनिक र तिनका आश्रित परिवार (बुबा, आमा, श्रीमती र दुई सन्तान)लाई मात्र अस्पतालले निःशुल्क सेवा दिँदै आएको थियो । यसका साथै दैवीप्रकोपका समय र दुर्गम क्षेत्रमा सञ्चालित घुम्ती स्वास्थ्य शिविरमा मात्र सर्वसाधारण जनताले सेनाका चिकित्सकीय सेवा पाउँदै आएका थिए । नेपाली सेना स्वास्थ्य विज्ञान अध्ययन संस्थानले सर्वसाधारण जनता र भूतपूर्व सैनिक (भेट्रान)का लागि महाँकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताललाई जीर्णाेद्धार तथा थप नयाँ भवन निर्माण गरी आगामी दुई वर्षभित्रमा सञ्चालनमा ल्याउन लागेपछि सर्वसाधारण जनताले सेनाको अस्पतालबाट सेवा पाउन लागेका हुन् ।

उपरथी प्रा डा शिवबहादुर बस्नेतले भन्नुभयो, “आगामी दुई वर्षभित्रमा आम सर्वसाधारण नेपाली जनताले सैनिक अस्पतालबाट दक्षिण एसियामा उपलब्ध हुने सबै स्वास्थ्य सेवा पाउने छन् । पहिलो विश्वयुद्धमा भाग लिएका वीर नेपाली सिपाहीका सम्झनामा विसं १९८२ मा त्रिचन्द्र मिलिटरी अस्पताल स्थापना भएको थियो । सो अस्पतालले तत्कालीन समयमा पहिलोपटक फाइबर अप्टिक इन्डोस्कोपी उपकरणलाई समेत भित्र्याएको थियो । विसं २०४६ पछि सो अस्पताल छाउनीमा स्थानान्तरण गरी वीरेन्द्र अस्पतालका रूपमा सञ्चालित छ । हाल सो अस्पतालको शय्या क्षमता ६०१ रहेको छ भने आगामी मङ्सिर महिनाबाट १५० थप हुँदैछ । महाँकालमा स्थापना हुने अस्पतालको शय्या क्षमता ४६९ को हुनेछ । अस्पतालमा आधुनिक चिकित्सा विज्ञानका सबै सेवा र उपकरण सस्तो र गुणस्तरीय रूपमा उपलब्ध हुनेछ, वीरेन्द्र अस्पतालका निर्देशक सहायक रथी प्रा डा किशोर जबराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारी अस्पतालका भन्दा अलि महँ्गो र निजी क्षेत्रका नर्सिङ होमका भन्दा सस्तो बीचको शुल्क अस्पतालले लिनेछ ।” सैनिक कल्याणकारी कोषले सो अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । कोषका निर्देशक सहायक रथी धनिदास कार्कीले भन्नुभयो, “महाँकालको अस्पताल सेवाका लागि समर्पित हुनेछ, व्यवसाय र नाफा खोज्ने यसको ध्येय होइन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालबाट बर्सेनि उपचारका लागिमात्र करिब रु एक अर्बभन्दा बढी विदेशिने गरेको छ । मुटु, मिर्गाैला, क्यान्सर, नसाजस्ता अति महँगो रोगको थप उपचारका लागि अझै विदेश जानुपर्ने बाध्यता रहेको छ । आम सर्वसाधारण जनता उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य र उपचारका लागि विदेश जानुपर्ने दुवै अवस्थाको अन्त्य गर्न चाहन्छाँै यही नै अस्पतालको मूलमन्त्र हो सहायक रथी कार्कीले भन्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेका मापदन्ड सबै विभाग, उपकरण र सेवाका क्षेत्रमा अस्पतालले लागू गर्नेछ । दक्षिण एसियामा गर्व गर्न लायकको अस्पतालको भौतिक अवस्था, उपकरण, प्रयोगशाला, चिकित्सकीय सेवा दिन्छाँै नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्रा डा प्रकाशराज पाण्डेले भन्नुभयो । नेपाली सेनाले विसं २०३२ देखि बहालवाला सैनिक र तिनका आश्रित परिवारलाई मात्र आफ्नो अस्पतालमा निःशुल्क सेवा दिँदै आएको थियो । सो सालमा दैनिक रूपमा १०० बिरामीलाई सेवा दिने सैनिक अस्पतालले हाल एक हजार २०० बिरामीलाई दैनिक रूपमा सेवा दिँदै आएको छ । तीन वर्ष अगाडि सेनाले मेडिसियन, नर्सिङ, पोलिटेक्निक तथा डेन्टिस्ट्रीसम्बन्धी विभिन्न तहका गुणात्मक शिक्षा प्रदान गर्न स्वास्थ्य विज्ञान संस्थानको स्थापना गरी ती विषयमा अध्ययन अध्यापन अगाडि बढाएको थियो । हाल मेडिसियनअन्तर्गत एमबिबिएस तहको तेस्रो वर्षमा विद्यार्थी अध्ययनरत छन् । संस्थानले १५० सिटको अनुमति पाए पनि हाल १०० सिटमामात्र संस्थानले अध्यापन गराइरहेको छ । अर्काे वर्ष संस्थानले पूरै क्षमतामा सो तहमा कक्ष सञ्चालन गर्ने योजनामा छ । यसका साथै संस्थानले पोष्ट ग्र्याजुएट विषयमा पनि अध्यापन गराउने तयारी गरिरहेको संस्थानका सहकार्यकारी निर्देशक प्रा डा भैरव हमालले जानकारी दिनुभयो । गरिब जनताका जेहेन्दार छोराछोरीलाई चिकित्सक बनाउने र गरिब जनतालाई स्वास्थ्य सेवा दिने कल्याणकारी योजनाको उद्देश्य रहेको सहायक रथी कार्कीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]