एमालेको एकतामा बाधक को ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको अन्तरकलह चरम विन्दूमा पुगेको छ । पार्टी विभाजनको संघारमा पुगिसकेको भए पनि अझै कानुनी रुपमा विभाजित भइसकेको छैन । यही बीचमा नेकपा एमालेलाई एकीकृत बनाउँदै अघि बढाउने प्रयास हुँदै आएको छ । लामो समयदेखिको प्रयासले मूर्तरुप लिन नसके पनि झिनो आशा भने जिवितै देखिन्छ । यही झिनो आशाको त्यान्द्रो समातेर एमालेका दोस्रो पुस्ताका नेताहरुले एमालेलाई एकीकृत बनाउने प्रयास जारी राखेका छन् । एकताको आधारलाई बलियो बनाउन दोस्रो पुस्ताका नेताहरुले दिनदिनै जसो अनौपचारिक छलफलमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको व्यक्तिगत टकरावलाई मत्थर पार्ने र एउटा निचोड निकाल्ने प्रयास जारी राखिएको हो ।

अधिकांश नेता तथा कार्यकर्ताको सुझाव, दबाब र लगावकै कारण एमालेलाई एकीकृत बनाउने प्रयासमा केही सकारात्मक संकेतसमेत देखिएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी एकताबारे गत जेठ २३ गते ६ बुँदे प्रस्ताव राख्दै माधव नेपालसहित सबैलाई एमालेका फर्कन र पार्टी एकीकृत राख्न अपील गर्नुभयो । अध्यक्ष ओलीले २०७५ साल जेठ ३ गते अघिकै अवस्थामा पार्टीलाई फर्काउन आफू तयार रहेको समेत बताउनुभएको छ । सोही बमोजिम एमाले स्थायी कमिटीको बैठक बोलाउने तयारी हुँदै आएको छ । तर बैठक आह्वान गर्नुअघि शीर्ष नेताहरुबीच अनौपचारिक सहमति कायम गर्ने प्रयास हुँदै आएकाले बैठक धकेलिँदै गएको छ । अध्यक्ष ओलीले पार्टीलाई एकीकृत रुपमा अघि बढाउने संकल्पसहितको ६ बुँदे प्रस्ताव आएपछि नेपाल समूहका केही नेताहरु उत्साहित भएका छन् । उनीहरुले अध्यक्षको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् ।

कसैले सत्य बोल्यो भने पनि उसको रुप, दलीय आबद्धता र पदलाई हेर्ने र त्यसपछि केही षड्यन्त्र रहेको देख्ने प्रवृत्ति एमाले एकताको बाधक हो । निर्णय प्रष्ट र पारदर्शी हुँदा पनि षड्यन्त्रको कोण अघि सार्दै भ्रामक प्रचारमा लाग्ने केही नेता एकताका बाधक भएका छन् । उनीहरुलाई सिद्धान्त र नैतिकता भन्दा पनि आफ्नै पद र प्रतिष्ठा ठूलो चाहिएको छ ।

आफ्नो समूहका धेरै नेताहरुले अध्यक्षको प्रस्तावलाई सकारात्मक रुपमा लिए पनि नेता नेपाल भने अझै यसमा सशंकित देखिनुभएको छ । अध्यक्षको प्रस्ताव सार्वजनिक भएलगत्तै उहाँले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग छलफल गर्न पुग्नुभयो । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरेपछि नेता नेपालले अध्यक्ष ओलीको प्रस्ताव फसाउने नियतका साथ आएको अभिव्यक्ति दिनुभयो । अध्यक्षले प्रस्ताव गरेपछि एक पटक भेट गरेर छलफल गर्नुपर्ने र पार्टीका अन्य नेताहरुसँग पनि परामर्श गर्नुपर्नेमा त्यो नगरी विपक्षीहरुसँग घाँटी जोडेर आन्तरिक विवादलाई अन्तरपार्टीतर्फ धकेर आफ्नो अभिव्यक्ति सार्वजनिक गर्नुले नेता नेपालप्रति आफ्नै समूहका नेताहरु सशंकित देखिएका छन् । उनीहरुले गलत ठाउँको सुझाव लिएर नेता नेपाल अघि बढ्न थालेको निष्कर्ष निकालेका छन् ।

नेता नेपालको सशंकित हुने व्यवहारपछि उहाँको समूह अब अध्यक्ष ओलीसँगै मिलेर अघि बढ्नुपर्ने निष्कर्षका साथ अघि बढ्न थालेको छ । त्यसैको परिणाम बागमती प्रदेशमा नेपाल पक्षीय मानिनु हुने अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीसँगै उभिएर सरकारको नीति तथा कार्यक्रमका पक्षमा एमालेका सबै सदस्यलाई मतदान गर्न आग्रह गर्नुभयो । प्रदेश नं. १ र गण्डकी प्रदेशमा पनि एमाले एकढिक्का देखिएको छ । प्रदेश नं. १ का नेता भीम आचार्यले एमालेलाई एकीकृत बनाएरै अघि बढ्ने र आफू विभाजनको पक्षमा नरहेको अभिव्यक्ति दिइसक्नुभएको छ । अरु प्रदेशहरुमा पनि एमाले क्रमशः एकीकृत हुँदै अघि बढ्न थालेको छ । यसले नेता नेपाललाई थप धक्का लागेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई आफ्नो निर्णय र अडानबाट पछि नहट्ने नेताको रुपमा चिनिन्छ । तर पार्टीलाई एकीकृत बनाएर लैजान आम नेता तथा कार्यकर्ताको दबाबपछि उहाँ लचकरुपमा प्रस्तुत हुँदै आउनुभएको छ । उहाँलाई लचक हुन आफ्नै समूहका दोस्रो तहका नेताहरुले बाध्य पारेका छन् । योसँगै नेपाल समूहमा हालसम्म रहेका भनिएका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टको भूमिका प्रशंसनीय छ । पार्टीलाई एकीकृत बनाउने पक्षमा रहनुभएका पाण्डे, भुसाल, भट्टराई र विष्टले ओलीसँग र उहाँपक्षीय नेताहरुसँग पटकपटक छलफल गरी ६ बुँदे प्रस्ताव सार्वजनिक गर्न लगाउनुभएको कुरा सार्वजनिक भइरहेको छ । तर त्यो प्रस्तावलाई नेता माधवकुमार नेपाल, भीम रावल, राजेन्द्र राई, जनार्दन खतिवडा, रामकुमारी झाँक्रीलगायत केही सिमित नेताले अस्वीकार गरेपछि एमालेमा एकताको बाधक हो रहेछ भन्ने पनि प्रष्ट भइरहेको छ ।

नेकपा एमालेलाई एकीकृत रुपमा अघि बढ्न नदिने ध्याउन्नमा विपक्षी दलहरु लागेका छन् । एमाले एकजुट भएमा आगामी निर्वाचनमा पछि पर्ने डरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहले माधवकुमार नेपाललाई उचालिरहेका छन् । यसमा बाह्य शक्तिको पनि थोरै हात रहेको आशंका गर्न सकिन्छ । किनकी प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावपछि तत्काल प्रतिक्रिया दिन छाडेर नेता नेपालले विभिन्न समूहहरुसँग चरणबद्ध छलफल गर्नुले पनि त्यसको पुष्टि हुन्छ । त्यति मात्र होइन, ओलीले प्रस्ताव गरेसँगै नेता नेपालको घरमै पुगेर उहाँलाई विभिन्न व्यक्तिले उक्साएको तथ्य सार्वजनिक भइसकेको छ ।

नेपालमा नेतृत्वले जे गरे पनि शंकाको दृष्टिले हेर्ने गरिन्छ । प्रधानमन्त्री ओलीले विश्वासको वातावरण बनाउन गर्नुभएको पहललाई पनि नेता नेपालसहितका केही सिमित व्यक्तिले शंकाको दृष्टिले नै हेर्दा नै एकताले सार्थकता पाउन सकेको छैन । कसैले सत्य बोल्यो भने पनि उसको रुप, दलीय आबद्धता र पदलाई हेर्ने र त्यसपछि केही षड्यन्त्र रहेको देख्ने प्रवृत्ति एमाले एकताको बाधक हो । निर्णय प्रष्ट र पारदर्शी हुँदा पनि षड्यन्त्रको कोण अघि सार्दै भ्रामक प्रचारमा लाग्ने केही नेता एकताका बाधक भएका छन् । उनीहरुलाई सिद्धान्त र नैतिकता भन्दा पनि आफ्नै पद र प्रतिष्ठा ठूलो चाहिएको छ ।
नेताहरुले सबैभन्दा पहिला आफूलाई विश्वास गर्नुपर्छ । आफ्नो राजनीतिक दल र समूहलाई विश्वास गर्नुपर्छ । त्यति मात्र होइन, निर्णय क्षमता हुनुपर्छ । तत्काल निर्णय गर्न सक्ने र त्यो सम्भव नभए आफ्नै पार्टीका नेताहरुसँग छलफल गरी एउटा निष्कर्षमा पुग्नुपर्छ । तर एमालेका नेपालसहितका केही नेताहरुको निर्णय क्षमतामा प्रश्न खडा भएको छ । प्रधानमन्त्री ओलीले सबैसँग परामर्श गरेर पार्टीलाई जेठ ३ गतेअघिकै अवस्थानमा फर्काउन गर्नुभएको प्रतिबद्धताको बेवास्ता गर्दै नेता नेपाल र रावल अघि बढे भविष्यमा उहाँहरुकै राजनीतिक भविष्य कहाँ पुग्ने हो भन्न सकिने अवस्था छैन ।

नेपालमा यसअघि पनि विभिन्न राजनीतिक दल पटकपटक विभाजित भएका छन् । नेतृत्वसँग टवरावकै कारण विभाजित भएका नेताहरु चुनावमा नराम्रोसँग पराजित भएका छन् । नेपाली कांग्रेस र नेकपा एमाले यसअघि विभाजित हुँदा उनीहरुले चुनावमा खानुपरेको धक्का कसैबाट छिपेको छैन । त्यसमाथि मूल पार्टीबाट विभाजित भएर अलग पार्टी गठन गरेर चुनावमा जानेहरुको पत्तासाफ नै भएको इतिहास पनि पुरानो छैन । यसलाई हेक्का राखेर आफ्नै पार्टीभित्रै अन्तरसंघर्ष गर्दै अघि बढ्दा नै कुनै न कुनै दिन व्यक्ति स्थापित हुन सफल भएको पनि देखिएकै कुरा हो । अहिले एमालेमा देखिएको अन्तरकलह सैद्धान्तिक नभएर व्यवहारिक र व्यक्तिवादी टकरावकै कारण भएकाले यसलाई एउटा निष्कर्षमा पु¥याउन दुवै पक्ष लचक हुनुको विकल्प छैन ।

पार्टीलाई एकीकृत बनाउन गरिएको प्रयासलाई अब सार्थकता दिनुपर्छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली लचक भएर अघि बढेको अवस्थामा अर्को पक्षले अझै दबाब दिनु घातक हुनसक्छ । ओलीले एकताका लागि अन्तिम प्रयास गरेको अवस्थामा केही मनमुटाव भए पनि पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने तर विभाजित नगर्ने मनस्थितिका लागि अर्को पक्ष बैठकमा सहभागी हुनुपर्छ । त्यसका लागि अहिले नै सबै कुरा हातका हात खोज्नु उचित हुँदैन । एउटै व्यक्ति सधैं नेतृत्वमा नरहने भएकाले पार्टीभित्रकै अभ्यासअनुसार नेतृत्वमा पुग्ने र आम नागरिकको मन जित्नेतर्फ लाग्नु नै सबैका लागि हितकर हुने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?