सुनको ओछ्यानमा चप्पलको सिरानी

अब आउने मंसिरमा ठ्याक्कै १० वर्ष पुग्ने रहेछ हाम्रो बिहे भएको । २ वर्षको अफेयर्सपछि परिवारको सहमतिमै भएको थियो । घरको पहिलो विवाह, जेठी छोरी, माईतीघर छोडेर आएको दिन धेरै रुनुभएको थियो भेरो आमाबुबा ।

हुन त छोरी पराईको घर जान अन्मिदा कस्का बुबाआमा नरोई बिदाई गर्नुहोला र ? आफुले जन्माएको सन्तानलाई अरुको घर पठाउँदा सबैको मन खिन्न हुन्छ नै । नरमाइलो त मलाई पनि भएको थियो तर खुशी पनि थिएँ । आफ्नो प्रेमी जस्लाई मन मुटु सब दिइसकेकी थिएँ उसैसँग जीवन काट्न पाउनु जति खुशी अरु के मा हुन्छ त ? सबै कुरा बुझ्ने अनि मलाई बेहदै माया गर्ने मान्छे । साँच्ची भन्नुपर्दा म त बिहेको दिन दुखी भन्दा पनि खुशी धेरै भएको थिएँ ।

नयाँ घर । सासु ससुरा, बुढी सासु अनि दुई नन्द । रमाइलो थियो सुरु सुरुका दिनहरु । रहरलाग्दा दिनहरु थिए । सबै नयाँ बेहुली हेर्न भनेर घर आउँथे । बुढी सासुकी प्यारी बन्न केही दिन पनि लागेन । लु नातिनी बुहारीले तेल लगाइदिनु रे । माथि खोपीमा तोरीको तेल छ मेथी थोरै हालेर तताएर लेऊ बुहारी मलाई तेल लाइदेऊ यी खुट्टा करकरी खान्छन् । धेरै हिंड्न सक्दिन । यता ढाड पनि उस्तै दुख्छ बाबै के गर्नु आज हो कि भोलिसम्मकी पाहुना हुँ । नातिको बिहे देख्न पाउँछु कि पाउँदिन भनेको के को नपाउनु । यस्ती राम्री बुहारी देख्न लेखेको रछ बरै ।

गाला सुम्सुम्याउँदै भन्नुभयो । म मुसुक्क आमैतिर हेरेर मुस्कुराएर आमा म तेल तताएर ल्याउँछ भनेर उठें ।

मेथी हालेर तताएर आमैको हात खुट्टा माडिदिएँ । अब मेरो पनि यो ऊमेर भइसकेपनि सुखका दिन आए जस्ता छन् अब मर्नुभन्दा अगाडि पनाति हेरेरै मर्न मन छ ।

म आमैको कुरा सुनेर मुसुमुसु मात्रै हाँसे ।

यसरी दिनचर्याहरु बदलिँदै गए । माईतीमा आमा बासँग रिसाएर घुर्की लगाएजस्तो कहाँ हुँदो रहेछ र ? सासु ममीले सिकाउनु हुन्थ्यो । जेठाजु ससुरा, काका ससुरा आउँदा पछ्यौरीले टाउको ढाकेर दर्शन गर्नु रे । खाली टाउको देखाउनु हुन्न भन्नुहुन्थ्यो । झन् कपाल छोडेर हिंड्नु त बडाको अगाडि अपमान हुन्छ रे ।

मान्दै मान्दै गएँ । सबैले गरी आएको अब तिम्ले नि गर्नुपर्छ भन्नुहुन्थ्यो । त्यो गर्न खासै गाह्रो पनि भएन । बानी पर्दै गयो । माईती घर गएको बेला आमाको काखमा बसेर रुन्थें । कतिधेरै कुराहरु मान्नुपर्ने नि आमा ।

आमा अचम्म मान्नुहुन्थ्यो । अहिलेको जमानामा पनि कस्तो सबै मान्नुपर्ने रछ त । गाह्रो छ कि क्याहो तँलाई ?
म आँशु पुछेर हाँसीदिन्थें ।

केही गाह्रो छैन आमा । आमा टोलाउन लाग्नुहुन्थ्यो । त्यै भएर पनि आमालाई यस्ता कुरा भन्न छाडेकी थिएँ । समय यसरी नै बित्दै गयो । सँगै माष्टर गरेका हामी बिहेपछि कन्टिन्यू गर्ने कुरा थियो । तर घरमा सबैले कराउन थाल्नुभयो । पर्दैन बुहारीले काम गर्न । छोराले गरिहाल्छ नि । काँ बुहारी काम गर्न जानु ? भन्न थाल्नुभयो ।

उहाँले ठीकै छ नित अब सबैले नगर भन्नुहुन्छ भने नगर । घरमै आमालाई काममा सघाउनु भन्न थाल्नुभयो । मन त मोन तर सबैको कचकचको अगाडि मेरो केही शिप लागेन र काम छोडें । यसरी नै दिनहरु बित्न लागे । केही समय म दुई जिऊकी भएँ । सबैको ओठमा नाति या पनाति भन्दा अरु केही हुन्न थियो ।

अरु त ठीकै थियो । श्रीमानको पनि ठूलो ईच्छा पहिलो सन्तान छोरा नै होस् भन्ने अनि छोरी भई भने नि ?

हेरी राख छोरा नै हुन्छ । हुनैपर्छ । म त आत्तिसकेकी थिएँ । यदि छोरी भयो भने ? शायद मैले पाउनुपर्ने माया पाउन्न कि ? भनेर । नभन्दै छोरीको नै जन्म भयो । सबैको मुखमा छोरा हुन्छ भनेको त छोरी पो ? भन्ने मात्रै थियो । त्यै छोरा पाउने आशमा आज तीन छोरी भए । कैले कैले रिसाएको बेला उसले घोचेको शब्दहरु नराम्रोसँग बिझेका छन् यी मुटुमा । तैपनि केही बोल्दिन म । नबोलेर टारिदिन्छु । उस्लाईलाग्छ म मा नै केही कमजोरी छ । डाक्टरलाई पनि देखाउन लग्यो उसले । तर डाक्टरले महिलाको मात्र कमजोरीले हुँदैन । तपाईंको पनि कमजोरी हुनसक्छ भनेपछि पनि उसलाई मेरै केही कारणले भएजस्तो लाग्छ ।

तिमी केही कामकी छैनौ । एउटा छोरो पनि दिन सकिनौ भन्दै रिसाउँछ । शायद उस्ले कुनै छोरीलाई पनि राम्रोसँग बोकेको, माया गरेको या पुल्पुल्याएर खेलेको देखेको छैन मैले ।

छोरा भाको भए यस्तो गथ्र्यो । उस्थ्यो गर्थें भन्दै बर्बराउँछ । उसले त छोराको निहुँमा मलाई राम्रोसँग समय दिन पनि छोडिसकेको थियो । हुन त मलाई बानी परिसकेछ । म त तीन छोरीकै धनी भइसकेकी थिएँ । उसको मायाको कमी कहाँ हुन दिथे र मेरो छोरीहरुले ?
ठूली छोरीले त सब बुझिसकेकी थिई । बाबासंग खेल्ने । अफिसबाट आऊने बितिकै बाबा बाबा मलाई के ल्याईदिनु भयो भनेर दौडन्थी तर आजकाल पत्तै हुन्न बाबा आएको गएको ।

बाबा रिसाऊनु मात्रै हुन्छ किन आमा ठूली छोरी सोध्छे । म के जवाफ दिनु हॅासेर भन्थ्ये बाबा अफिसमा धेरै काम गरेर आऊनु भएको हुन्छ त्यसैले थाक्नु भएको भएर हो ।‘मन भक्कानीएर आऊछ कस्लाई कहाँ गएर पोखौ माईतमा आमाबा लाई भनौ भने मुटुकी बिरामी आमाको सास रहन्न । मनमनै गुम्सिएर कुराहरु पोको परेका छन ।

समय संगै चलिरहनु बाहेक केही उपाय थिएन । एकदिन ऊ फोन ओछ्यानमा राखेर नुहाउन पसेको थियो मोबाईलमा फोन आयो
“प्रीया” लेखेको थियो । उठाउँ कि ? भने फेरी मनले मानेन् । २ पटकमा पनि फोन नऊठे पछि म्यासेज आयो “ह्वाई आर यू नट पिकीगं माई कल ? प्लीज बी अन टाईम । लब यू प्रीया” लेखेको थियो । छोटो म्यासेस भएकोले मोबाईल नखोली म्यासेज पूरै देखीयो ।
छाँगाबाट खसेझै भयो । मन दह्रो बनाएर दराज खोलें । हतार हतार गर्दै कतै ऊस्ले थाहा नपाओस भनेर । अघि ऊस्ले लगाएको कोटको खल्तीमा छामे सुनको सिक्री थियो लब हर्ट भएको लकेटमा पी लेखेको थियो आँखाबाट आसु रोकिने कुरै भएन । सिक्री जस्ताको तस्तै राखीदिएँ ।

हतार हतार आँसु पुसेर बाहीर निस्के । छटपटीले ऊथलपुथल भयो । पुस महिनाको जाडोमा शरीरबाट निस्कीएको पसिनाले लुगा सबै भिजाईदियो । माथी छतमा गएँ । डाँको छोडेर रून मन लाग्यो । कसैले थाहा पाउला भनेर ट्वाईलेटमा बसेर सारीको फुर्को मुखमा राखेर बेसमारी रोएँ ।

छोरीहरु सम्झेर रोएँ ।

उस्ले दिएको पीडा संम्झेर रोएँ ।

अनि अब आऊदै गरेको अन्धकार भबिष्य संम्झेर  धित मरुन्जेल रोएर ‘भान्छामा गएँ । म आत्तिएको देखेर सासु आमा सोध्दै हुनुहुन्थ्यो ।

के भयो अनुहार रातो पिरो छ त भनेर । टाऊको दुखेको छ भनेर टारी दिएँ ।

त्यतिकैमा नुहाएर चिटीक्क परेर ऊ बाहीर निस्क्यो ।

आमा आज म अली ढिला हुन्छ है आऊन भन्दै ढोका तिर लाग्यो ।

नजाने जस्तो गरेर सोधे कता जान थाल्नु भो त खाना पाकी सक्यो ।

फर्किन पनि नफर्की अफिसको साथीहरुसंग ऊतै खान्छु खाएर सुते हुन्छ मलाई नकुर्नु ।

सरासर गेट खोलेर ऊ छोरीहरुले बोलाएको पनि नसुनी गयो ।छोरीहरुलाई सुताएर छउमा पल्टें । रुँदा रुँदा सिरानी भिजीसकेको थियो ।आँखाका डिल सुन्नीएर राता राता भएका थिए ‘रातीको तेस्तै २ बजे ऊ आयो रिसले आगो भएकी थिए त्यै पनि भित्ता तिर फर्केर सुते ।

रुदा रुदा सुक्क सुक्क मात्रै आवाज थियो मेरो ।

“अ‍ैले सम्म के खान नसुत्या?” ऊल्टै ठूलो स्वरमा बोल्दै थियो ।

सुते पनि नसुते पनि कस्लाई मतलब छ र मेरो रुन्चे आवाजमा बोले ।

ओई किन रोकी के भयो र फेरी नाटक गर्या हॅ खुरुक्क नसुतेर

उठेर दुई झापड हानेर धोकेबाज भन्न मन थियो तर छोरीहरु छेऊमा थिए कराऊन सकिन बस भित्र भित्रै चिच्याए रोए कराए ।
हरेक दिन सिरानी भिजाएर सुते । मन मा चैन थिएन शरीर सुक्दै थियो तर भन्न सकिनँ । ऊसले मायाले नबोलाएको त वर्षौं भैसकेछ । काहाँ गएर कोसंग पोखौ कैले सम्म यसरी बित्ने हो थाहा छैन ।अब त ऊ घरमा हुदा पनि छैन जस्तो लाग्छ खै के मा ब्यस्त हुन्छ ?
ऊ मेरालागी एक मिनेट निकाल्न सकेको छैन ।

मेरा लागी त के छोरी हरुको लागी बाबाको नाम मात्रै पाएका थिए माया पाऊन सकेनन् साह्रै अभागी रैछन ।
के दोष थियो ति बालखको ? दोष त खै कस्को थियो र बहुमतकै कदर हुदो रहेछ दोष भन्दानी ‘त्यसैलेत म दोषी ठहरीएकी थिएँ । सब कुरा त्यागें ।

आफ्नो करियर, समय, यो १० बर्ष बस् ऊसकै नाममा, ऊसले त माया गर्ने अरुनै भेटी सक्यो हजार बहाना निकाल्थ्यो अफिसको नाममा प्रीयालाई भेट्न । धेरै पटक देखेकी छु ऊस्ले किनेर ल्याएका गिफ्टहरु धेरै पटक त सायद मलाई होकी भनेर खुसी हुन्थ्ये तर ति खुसीहरु बस् ॲासु र आसाका बाढी बनेर आखाबाट निस्कन्थे । यी आँखाहरु ओभाऊन कहिले पाएनन् । सबकुरा थाहा पाएर पनि बुझ पचाउँथे । धेरै चोटी सोधे प्रीयाको बारेमा।। अनि त्यो म्यासेजको बारेमा ‘ऊल्टै झपार्थ्यो त्यसै संका गर्छेस् भन्दै ।

तिम्रो च्वाईस मात्रै लाऊछु मलाई मन पर्छ भन्ने ऊ समय समयमा नया लुगा लिएर आऊथ्यो तर म र छोरीहरुका लागी कैले एक पैसा खर्च गरेन । आजकल त सासु आमा संग माग्नु पर्ने भै सकेको थियो केही किन्न पनि ।

मैले बिहे भन्दा अगाडी किनीदिएको पर्स जस्मा ऊसको र मेरो पार्सपोर्ट साईजको फोटो थिथो एकदिन निकालेको देखेकी थिए त्यपछि कयौ पर्सहरु फेर्यो तर त्यो फोटो अटाएन ति पर्सहरुमा ।

पर्सको के कुरा मन मुटुबाट मेरो नाम निसाना ऊखालेर फालीसकेको छ तर पनि म चूप छू ।

कैले कैले सासु आमा पनि भन्नु हुन्छ नाति हेर्ने भाग्य छैन जस्तो छ वंश नासीने भयो । अझै कोसीस गर बुहारी एकचोटी ।
सजिलो छ भन्दिनेलाई छिमेकी पनि मौका पाऊने बितीकै छेड्छन हैन् छोरा त चाहीन्छ है बुहारी नानी बैद्यकाँ जानु एकचोटी भन्छन् ।
मन त गाला फुट्ने गरी दिएर ईट्स नन् अफ योर बिज्नेस भन्न मन लाग्छ नी त सकिदो रैनछ । सासु आमाले कहाँ कहाँ लानु हुन्थ्यो त्यही त्यही गएँ । भगवान संग लाखौ बिन्ती गरें । कुनै मठ मन्दिर बाँकी राखेको छैन । हुने जति गर्ने जति सबकुरा गरे कतै छोरा भईहाल्छ की भनेर ऊस्को खॅातिर ।

ऊसको माया फर्काऊन । छोरीहरुले माया पाऊन भनि तर कतै केहीको सिप लागेन । पैले पैले भर्खर बिहे भएको बेला आफन्त साथी भाईहरु भन्थ्ये कति भाग्यमानी तिमी । मन परेको मान्छे पढेलेखेको परिवार त्यसमाथी धनको पनि कमी छैन । साँच्चिकै कति भाग्यमानी जस्तो लाग्थ्यो तर के थाहा भाग्यमा यस्तो पनि लेखेको रहेछ भनेर…

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?