फत्तेमानको स्वरको अन्तिम गीत सार्वजनिक

नेपाली गीत सङ्गीत क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्व स्व गायक फत्तेमान राजभण्डारीद्वारा स्वरबद्व ‘अपुरो मन’ नामक गीति एल्वम सङ्गीतकार सङ्घ नेपालद्वारा विमोचन गरिएको छ । नेपाली गीत सङ्गीत क्षेत्रको विकास र विस्तारमा लामो समयदेखि संलग्न हुँदै आउनुभएका अनिल केसीले बजारमा ल्याउनु भएको उक्त एल्वममा स्व राजभण्डारीले स्वर दिनुभएका पाँच गीत समावेश गरिएको छ । गीतकार कृष्ण केसीको शब्द रहेको उक्त गीति एल्वममा सङ्गीतकार हरि लम्सालले सङ्गीत भर्नुभएको छ । गायक राजभण्डारीद्वारा स्वरबद्ध अन्तिम गीति एल्वमको रूपमा ‘अपुरो मन’ बजारमा आएको हो । विसं १९९३ सालमा जन्मनु भएका गायक राजभण्डारीको २०७० साल भदौ १० गते निधन भएको थियो । २०१८ सालमा रेडियो नेपालमा ‘यस्तो पनि हुँदो रहेछ….’ भन्ने बोलको गीत रेकर्ड गराएर औपचारिक रूपमा नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएका फत्तेमानका ४५० भन्दाबढी गीत रेकर्ड भएका छन् । वरिष्ठ साहित्यकार एवम गीतकार रत्नशम्सेर थापा, प्रेमध्वज प्रधान, नीर शाह, शम्भुजित बास्कोटाले उक्त एल्वमको संयुक्तरूपमा विमोचन गर्दै स्व राजभण्डारी उच्चकोटीका गायक एवम सङ्गीतकार भएको बताउनुभयो । वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले गीतकार कृष्ण केसी र सङ्गीतकार हरि लम्सालले स्व राजभण्डारीले जीवनको अन्तिम समयमा स्वर दिनुभएका गीतलाई बजारमा ल्याएर उहाँप्रति सम्मान पु¥याउनुभएको भनी खुशी व्यक्त गर्नुभयो ।