राष्ट्रिय सहमतिको सरकार आवश्यकता : नेपाल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकमा उत्पन्न भएको राष्ट्रिय सङ्कट समाधानका लागि सबै दलको सहभागितामा राष्ट्रिय सहमतिकोे सरकार हुनुपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकबाट काठमाडौँ आई काठमाडौँका बौद्ध, यज्ञडोल, थलीलगायत क्षेत्रमा बस्दै आएका विस्थापितसँगको भेटमा उहाँले सहमतिको सरकारले नै विस्थापितको समस्या बुझ्न सक्ने बताउँदै वर्तमान समयमा भूकम्पले क्षति पु¥याएको बस्तीको अध्ययन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “भूगर्भविद्सहितको टोलीले भूकम्पप्रभावित क्षेत्रको अनुगमन गरेर कुन ठाउँमा बस्न ठीक छ, कुन ठाउँमा छैन भन्ने अध्ययन गरेर बस्ती सार्नुपर्छ ।” भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा सात लाख स्वयम्सेवक परिचालन गरेर तत्काल अस्थायी घरटहरा निर्माण गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । पोलिटव्यूरो सदस्य अरुण नेपालले भूकम्पले आफ्नो आमाको निधन भएपनि पाँच दिनमा काजकिरिया सकेर राहत र उद्धारमा लागेको बताउनुभयो । उहाँले सिन्धुपाल्चोकका अधिकांश क्षेत्र भूकम्पले चिरिएर बस्न नहुने भएकाले जनता विस्थापित भएको भन्दै विस्थापित जनतालाई गाँस, बास, कपासको उपयुक्त व्यवस्था गर्नुपर्ने बताउनुभयो । गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पबाट विस्तापित भई काठमाडौँ आउने जनतामा सिन्धुपाल्चोकका मार्मिङ, गाती, फुल्पिङकट्टि, लिस्ती, बाह्रबिसेलगायत छन् ।
राहत वितरण
नेता नेपाल काठमाडौँ निर्वाचन क्षेत्र नं २ स्थित शङ्करापुर नगरपालिकाका भूकम्पपीडितलाई आज राहत वितरण गर्नुभएको छ । स्थानीय लप्सीफेदी, कात्तिकेका ३०० पीडित परिवारलाई चामल, पाल, म्याट्सलगायत सामग्री उपलब्ध गराइएको थियो । राहत वितरणपछि नेता नेपालले भूकम्पपीडितलाई भूकम्पका कारण स्थानीयको छानो तथा मानो गुमेको अहिलेको अवस्थामा विपत्लाई समाधान गर्न सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पीडितलाई संयम भई धैर्य गर्न आग्रह गर्दै पार्टी जनताको दुःख तथा सुखको साथी भएकाले उनीहरुलाई सङ्कटको अवस्थामा सक्दो सहयोग उपलब्ध गराउने वचनवद्धता व्यक्त गर्नुभयो । नेता नेपालले नाङ्गलेभारे, साँखु, सुन्टोललगायत क्षेत्रमा पार्टीले पुनःनिर्माणका लागि परिचालन गरेको स्वयम्सेवकको कार्य अनुगमन गर्नुभयो । सो क्षेत्रका स्वयम्सेवक परिचालन कमिटीका संयोजक सूवर्ण श्रेष्ठले त्यहाँका स्थानीय तथा प्राचीन महत्वका सम्पदाको क्षतिका बारेमा जानकारी गराउनुभयो । भूकम्पका कारण करिब ५६ हजारको वसोवास रहेको उक्त स्थानमा सात हजार घर भत्किएका छन् भने १०९ को मृत्यु भएको थियो । यसैबीच पार्टीका स्वयम्सेवकले गोकर्णेश्वर नगरपालिका ७ सुन्ताखान मा.विको अस्थायी टहरा चारदिनदेखि निर्माण गरिरहेको सभासद् रामेश्वर फूँयालले जानकारी दिनुभयो । त्यस क्षेत्रका अति विपन्न १०० परिवार तथा प्रतिपरिवारलाई डेढ बण्डल जस्ता पाताको अस्थायी टहरा निर्माण गर्न विभिन्न सङ्घ संस्थालाई आग्रह गर्नुभयो ।