कोरोनाको खोप लगाएर अष्ट्रेलिया आएका ६ जनालाई पनि संक्रमण

सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियाको न्यूसाउथवेल्समा आइपुगेका ६ जना अन्तर्राष्ट्रिय यात्रीहरुलाई कोरोना संक्रमण देखिएको छ । हाल होटल क्वारेन्टीनमा रहेका उनीहरुले अष्ट्रेलिया आउनुअघि आफुहरुले कोभिड १९ कोरोना विरुद्ध खोप लगाएको बताएका थिए । गएको चार सातामा आएकामध्ये ६ जना खोप लगाएकाहरुलाई पनि कोरोना संक्रमण देखिएको तथ्यांक न्यूसाउथवेल्स स्वास्थ्य विभागले शनिबार सार्वजनिक गरेको हो ।

नयाँ तथ्य सार्वजनिक भएसँगै प्रधानमन्त्री स्कट मोरिसनले भ्याक्सिन पासपोर्ट कार्यक्रम सुरु गर्ने भनी ल्याएको अवधारणा संकटमा परेको छ ।
हालसम्म अष्ट्रेलियामा २५ लाख मानिसहरुले पहिलो डोज खोप लगाइसकेका छन् । चीनले डिजिटल माध्यमबाट खोप लगाएकाहरुको तथ्यांक संकलन गर्दै उनीहरुलाई भ्रमण गर्न दिने सूचिमा राख्ने जनाइसकेको छ भने अमेरिकाले पनि यस्तै कार्यक्रम ल्याएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने अबको व्यवस्था भ्याक्सिन पासपोर्ट नै भएको बताएपनि त्यस्तो सम्भावना भने धेरै टाढाको विषय रहेको भनी अहिले नै अष्ट्रेलिया यसका लागि तयार भइनसकेको संकेत गरेका छन् ।

भारतबाट अष्ट्रेलिया आउन चाहने आफ्ना नागरिकहरुलाई समेत यतिबेला प्रतिबन्ध लगाइएको छ । भारतमा करिब ९ हजार अष्ट्रेलियन नागरिकताधारी व्यक्तिहरु रहेका छन् । जसमा १ सय ७३ जना बालबालिका समेत छन् । आगामी मे १५ तारिखबाट अष्ट्रेलियाले पुनः भारतबाट आफ्ना नागरिकलाई उद्धार उडानमार्फत ल्याउने योजना बनाइरहेको छ । सातामा एउटा उडान गरी उनीहरुलाई स्वदेश फिर्ता गराउने व्यवस्था मिलाइनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team