उपत्यका बाहिर जानेहरूसँग तीन गुणा बढीसम्म भाडा असुल्ने यातायात व्यवसायी पक्राउ

काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा गरेको दिन देखि परिचालन गरेको विशेष छड्के चेकजाँच तथा अनुगमन टोलीले विभिन्न स्थानबाट दैनिक रुपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरेको छ ।

महामारीको परिस्थितिमा यात्रुहरु समस्यामा पर्न सक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि विशेष टोली परिचालन गरेको टोलीले सम्भावित स्थानहरुमा निगरानी गर्ने, आँफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिने व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताएका छन् ।

उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट आएका र अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जानु पर्ने यात्रुहरुसँग तोकिएको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीहरुलाई कलंकी र बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको उनले जानकारी दिएका छन् ।

ट्राफिक प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भई थानकोट बस्ने बर्ष ५३ को मनु अर्याल र उनकै छोरा बर्ष ३० का अनु अर्याललाई पक्राउ गरेको हो । त्यस्तै, नारायणी यातायात काउण्टरका टिकट बुकिङ् स्टाफ हेटौडाका ३८ बर्षे नवराज घिमिरे, कुलेश्वर बस्ने बर्ष ४४ का बिपिन सुबेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ् ईन्चार्ज सुन्धारा काठमाण्डौंका ४९ बर्षे ज्ञानेन्द्र साह समेत बढि भाडा लिएको कसुरमा पक्राउ परेका हुन् ।

उनीहरुले धनुषा, महोत्तरी र बिरगंज जाने यात्रुहरु संकलन गरि प्रति व्यक्ति २५ सय देखि ३ हजारसम्म भाडा लिने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरूले यात्रुहरूसँग उठाएको रकम तोकिएको भन्दा करिव तिन गुणा बढि हुन आउँछ ।


पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team