संविधान जारी गरेर कोइराला प्रधानमन्त्रीबाट हट्ने तयारीमा

प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गरेपछि आफूले सरकारको नेतृत्व छाड्ने बताउनु भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आज प्रधानमन्त्री निवास पुग्नु भएका सेतो गुम्बाका रिन्पोछे चोक्यी ङ्मिा रिन्पोछे नेतृत्वको टोलीलाई उहाँले संविधान जारी गरेपछि सरकारको नेतृत्वमा आफू नरहने स्पष्ट गर्नुभएको हो । संविधान जारी गर्ने दिन धेरै टाढा नभएको पनि प्रधानमन्त्रीले बताउनुभयो
सेतो गुम्बाबाट पच्चीस लाख
भूकम्पपीडितको सहयोगार्थसेतो गुम्बाले रु २५ लाख प्रदान गरेको छ । गुम्बाका रिन्पोछेले उक्त रकम उल्लिखित चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो । रिन्पोछेले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले गुम्बाको अवलोकन गर्नुभएको स्मरण गराउँदै प्रधानमन्त्री कोइरालालाई पनि गुम्बा दर्शनको लागि आमन्त्रण गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले मुलुकमा लोकतान्त्रिक पद्धति बसाउन तथा लोकतान्त्रिक संविधान जारी गर्न आफू समर्पित रहेको स्पष्ट गर्दै त्यस्तो संविधानबाट नै दिगो शान्ति र राजनीतिक स्थायित्व कायम भई देश विकासको बाटोमा अग्रसर हुने बताउनुभयो ।
ज्योति ग्रुपबाट एक करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ज्योति ग्रुपका तर्फबाट रु १ करोड सहयोग प्राप्त भएको छ ।ग्रुपका अध्यक्ष पद्म ज्योतिले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री राहत कोषलाई केही स्वार्थी समूहले विवादमा ल्याउन खोजेका भन्दै प्रधानमन्त्रीले कोषको नाम प्रधानमन्त्रीको राखिए पनि त्यसको सञ्चालनमा आफ्नो भूमिका प्रष्ट गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो,“राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहने यो कोषमा ८ वटा मन्त्रालयका सचिव सदस्य रहन्छन् । गृहमन्त्रीको अध्यक्षतामा रहेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिबाट रकम माग हुन्छ । त्यसका आधारमा कोषले उक्त समितिलाई रकम निकासा गर्छ । त्यो रकम सम्बन्धित जिल्ला दैवी प्रकोप उद्धार कोषमा पुग्दछ । बीचमा कसैले गोलमाल गर्न सक्दैन ।”खप्रधानमन्त्री कोइरालाले दाताहरुले आफ्नो गाँस काटेर दिएको सहयोग रकम दुरुपयोग हुन नदिन आफू प्रतिबद्ध रहेको जानकारी दिनुभयो । उहाँले सहयोग रकम र सामग्रीहरु पीडितहरु समक्ष पुग्न सकोस् भनेर सरकारको समन्वयमा जाने व्यवस्था मिलाईको बताउनुभयो । उहाँले थोरै रकम र सामग्री ससाना समूहले सिधै पु¥याउन खोज्दा प्रशासनिक खर्च अधिक हुने तथा सुगम ठाँउमा राहत थुप्रिने र दुर्गममा त्यही अनुपातमा नपुग्ने समस्यालाई कम गर्न एकद्वार प्रणाली लागू गरिएको बताउनुभयो ।
धितोपत्र व्यवसायीको पौने ३९ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूँजी बजारमा कार्यरत धितोपत्र व्यवसायी सङ्घका अध्यक्ष तथा क्रिष्टल कञ्चनजङ्घा सेक्युरिटिजका प्रबन्ध निर्देशक प्रियराज रेग्मीले रु ३८ लाख ८८ हजार २ ५० ट्रिनीटी ग्रुपले १० लाख ४० हजार ११ रुपैया सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत उमेश थापा र कलेजका प्रिन्सिपल निर्मल अधिकारीले सो रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत थापाले दिनुभएको जानकारी अनुसार टिनिट्र समूह,नेपाल किष्ट कलेज र नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजिले सो रकम प्रदान गरेका हुन ।
नेपाल बैंकबाट १५ लाख सहयोग
नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैया सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका महाप्रबन्धक देवेन्द्र प्रताप शाहले सो रकम प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । यस अगाडि नै बैंकका कर्मचारीहरुले आफ्नो मासिक पारिश्रमिक कटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ८७ लाख २५ हजार भन्दा बढी रकम सहयोग गरिसकेका छन ।
नायोगाका नेपालीद्धारा १० लाख सहयोग
भूकम्प पीडित नेपालीहरुको सहयोगको लागि जापानको नायोगा शहरमा विभिन्न पेशामा संलग्न रहेका नेपालीहरुले पनि योगदान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नपाली समुदाय नायोगा जापानका स्वयंसेवकहरुको तर्फबाट सहसंयोजक प्रदीप पन्थीले प्रधानमन्त्री सुशील कोइरालालाई १० लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको थियो । चेक हस्तान्तरण कार्यक्रममा नायोगामा भूकम्प पीडितका लागि सहयोग रकम र सामाग्री संकलन गरी भूकम्प प्रभावित क्षेत्रका पीडितहरुलाई वितरण गर्न आउनुभएका स्वयंसेवीहरुको पनि उपस्थिति रहेको थियो । सो अवसरमा सह संयोजक पन्थीले यस कार्यमा राहत रकम संकलनदेखि खटिएका ९ जना स्वयंसेवीहरु आफ्नो खर्चमा नेपाल आएर प्रभावित क्षेत्रमा पुगी पीडितहरुलाई सहयोग गरेको बताउनुभयो । सो टोलीले जापानबाट एक सय थान त्रिपाल, टेण्ट,स्लिपिङ्ग व्याग, मास्क खरिद गरेर ल्याउनुका साथै नेपालमा जस्तापाता, चामल,नून, तेल, दाल, साबुन, लत्ता–कपडा र औषधी लगायतका सामान खरीद गरी सिन्धुपाल्चोकका चोकटी गाविसका ३ सय थामी समुदाय,गोर्खाको बारपाक,दोलखाको जिरीमा राहत सामग्री बाडेको थियो । टोलीले दोलखाको जिरी उच्च माध्यमिक विद्यालयलाई अस्थायी संरचना बनाउन १ लाख ५० हजार रकम हस्तान्तरण गर्नुका साथै त्यस क्षेत्रका ४० विद्यालयका लागि ४० थान त्रिपाल वितरण गरेको जनाएको छ ।
मेगा कलेजको पाँच लाख
प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा राजधानीमा अवस्थित मेगा कलेजका तर्फबाट अध्यक्ष प्रा. डा. होमनाथ भट्टराईले रु ५ लाख १ हजारको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभयो ।
मदरल्याण्ड समूहको सहयोग
जापानमा रहेका नेपालीहरुको संस्था मदरल्याण्ड नेपालको तर्फबाट प्रधानमन्त्री राहत कोषमा रु दुई लाख रुपैया प्राप्त भएको छ । नेपाल –जापान जनसम्पर्क समितिका अध्यक्ष नारायण सुवेदी र पूर्व अध्यक्ष बलराम श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभयो । भूकम्पपीडितलाई उदारतापूर्वक सहयोग गर्ने व्यक्ति तथा संस्थाको सङ्ख्या बढ्दै गएको छ । यसैक्रममा प्रणय राईले व्यक्तिगत रुपमा रु ८ लाख १९ हजार १ ८५, नबिल ‘कर्पोरेट स्टाफ’ मोहनराज भट्टले रु ७ लाख, कीर्ति ओझा भट्टले रु ३ लाख १० हजार, फोरम फर ओमन ल एण्ड डेभलपमेन्टले रु १ लाख २५ हजार, देवकरण कलवारले रु १ लाख ६ हजार ९३१,क्लब फिफ्टीले रु ५१ हजार १११ प्रदान गर्नुभएको छ । शनिबार रिलायन्स लोटस फाइनान्स लिमिटेडले रु दुई लाख प्रदान गरेको थियो ।