पुनःनिर्माणलाई नयाँ तरिकाले अगाडि बढाइन्छ – अर्थमन्त्री डा महत

अर्थमन्त्री डा रामशरण महतले आगामी आर्थिक वर्षमा भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणलाई नयाँ तरिकाले अगाडि बढाउने बताउनुभएको छ । अन्तक्र्रियामा उहाँले भन्नुभयो – “आधुनिक बसोबासका लागि हिजोभन्दा अझ राम्रो अवसर हो, यस अवसरलाई नयाँ तरिकाले अगाडि बढाउनुपर्छ ।” अर्थमन्त्री डा महतले भूकम्प प्रतिरोधात्मक घरहरू निर्माण गर्ने अवसरलाई सदुपयोग गर्नका लागि सरकारले उपलब्ध गराएको नक्साअनुसार घर तथा भवन निर्माण गर्न र त्यसका लागि सरकारले उपलब्ध गराउने रु दुई लाखको सहुलियत ऋण लिन पनि आग्रह गर्नुभयो । पुनःनिर्माणका लागि सरकारलाई ठूलो रकम आवश्यक भएकाले आन्तरिक तथा बाह्य सहयोग जुटाउने तयारी गरेको उल्लेख गर्दै उक्त सहयोगका आधारमा आगामी आर्थिक वर्षको बजेट तय गरिने उहाँले जानकारी दिनुभयो । आगामी असार १० गते सरकारले दातृ निकायहरूको सम्मेलन गरेर पुनःनिर्माणका लागि आर्थिक तथा अन्य सहयोग जुटाउन पहल गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा महतले भन्नुभयो – “विश्वसनीय कार्यक्रम तयार गरेर अगाडि बढाउन सकियो भने दातृ निकायको राम्रो सहयोग प्राप्त हुन्छ, त्यसलाई सही सदुपयोग गरेर पुनःनिर्माण कार्य अगाडि बढ्छ ।”उहाँले द्विपक्षीय दातृ निकायसँग अनुदान सहयोगमा जोड दिने र बहुपक्षीय दातासँग भने सहुलियत पूर्ण ऋण लिने सरकारको योजना रहेको स्पष्ट पार्नुभयो । यस अघि तय गरिएको रु सात खर्ब ३५ अर्बबराबरको बजेटको आकार बढ्ने जानकारी दिँदै अर्थमन्त्री डा महतले पुराना योजनालाई निरन्तरता दिने तर धेरै नयाँ योजना भने नल्याउने बताउनुभयो । उहाँले पुनःनिर्माणलाई पहिलो प्राथमिकतामा राख्ने जानकारी दिनुभयो । राष्ट्रिय सरकारको सन्दर्भमा अर्थमन्त्री डा महतले संविधान जारी नभएसम्म प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नै सरकार रहने स्पष्ट पार्नुभयो ।