नेपालको पुनर्निर्माणमा हृदय खोलेर सहयोग गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पबाट क्षतिग्रस्त नेपालका भौतिक संरचनाको पुनः निर्माण तथा नवनिर्माणमा हृदय खोलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सेभेन रेस कोर्सस्थित आफ्नो निवासमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग भएको भेटवार्तामा प्रधानमन्त्री मोदीले सहायतासम्बन्धी नेपालको प्रस्तावको प्रतीक्षामा आफू रहेको बताउनुभयो । वर्षायाम नजिकिएकाले भूकम्पपीडितलाई शीघ्र पुनर्वासको व्यवस्था गर्नेतर्फ उहाँले विशेष जोड दिनु भएको र त्यसमा भारतको सम्भावित सहयोगबारे विचारविमर्श भएको राजदूत उपाध्यायले रासससँगको टेलिफोन वार्तामा बताउनुभयो । “पुनर्निर्माण एवम् पुनर्वासमा हृदय खोलेर सहयोग गर्न भारत तयार रहेको प्रधानमन्त्री मोदीले बताउनुभयो”– उहाँले भन्नुभयो । राष्ट्रिय योजना आयोगले यही जेठ २२ गतेसम्ममा प्रधानमन्त्री सुशील कोइरालासमक्ष पुनर्निर्माणको योजना प्रस्तुत गरेपछि त्यसैका आधारमा सहयोग गर्ने तयारीमा भारत सरकार रहेको राजदूत उपाध्यायले बताउनुभयो । “नेपाल सरकारको निर्णयको हामी प्रतीक्षा गरिरहेका छौँ, त्यसका आधारमा हामी सहयोगको घोषणा गर्नेछौँ,” प्रधानमन्त्री मोदीलाई उद्धृत गर्दै राजदूत उपाध्यायले भन्नुभयो । करिब चौध वर्ष अगाडि मोदी गुजरातका मुख्यमन्त्री रहेका बेलाको भूकम्पको विपत्ति र नेपालले हाल झेल्नु परेको भूकम्पमा आफूले केही फरक अनुभव गरेको प्रधानमन्त्री मोदीले सुनाउनु भएको उल्लेख गर्दै राजदूत उपाध्यायले गुजरात भूकम्पकै दिन एक हजार २ सय पटक भूकम्पका धक्का महसुस गरिएका तर नेपालमा भने त्यस्ता कम्पन थोरै महसुस भएकामा चासो र चिन्ता व्यक्त गर्नु भएको जानकारी दिनुभयो । “धेरै कम्पन हुँदा खतरा कम हुने विज्ञहरूको भनाइ उद्धृत् गर्दै प्रधानमन्त्री मोदीले नेपालमा थोरै कम्पन भएकाले फेरि अनिष्ट हुने हो कि भन्ने आशङ्काले आफूलाई पिरोलिरहेको बताउनुभयो, नेपालमा अझै केही समयसतर्कता अपनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो, ”– राजदूत उपाध्यायले पुनः भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति उद्धरण गर्नुभयो । प्रधानमन्त्री मोदीमा नेपालप्रति निकै चिन्ता र सदिच्छा आफूले पाएको पनि उपाध्यायले बताउनुभयो उहाँले भूकम्पबाट भएको क्षतिमा भेटवार्ता केन्द्रित रहेको जानकारी दिदै नेपालको राजनीतिका बारेका खासै चर्चा नभएको स्पष्ट गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]