एमाओवादी अध्यक्ष सिन्धुलीको दुम्जामा, भूकम्प पीडितलाई तत्काल ५० हजार दिन माग

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भूकम्प प्रभावित क्षेत्रका जनतालाई अस्थायी आवास निर्माणका लागि तत्काल रु पचास हजार प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । भूकम्पप्रभावित सिन्धुलीको दुम्जा क्षेत्रको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रममा उहाँले व्यवस्थापिका–संसद्बाट गठित विशेष समितिको प्रस्तावअनुसार अस्थायी आवास निर्माणका लागि पुग्ने रकम प्रदान गर्न सरकारसँग माग गर्नुभएको हो । सरकारले हाल प्रदान गर्ने भनेको रु १५ हजारले केही पनि नहुने र पीडितले केही पनि प्राप्त नगर्ने भएकाले मनसुन सुरु हुनु अगावै पुग्दो रकम परिचालन गर्न उहाँले आग्रह गर्नुभएको हो । भूकम्पप्रभावित जनतालाई प्रभावकारी रूपमा राहत प्रदान गर्न र पुनःस्थापनाका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्नुपर्ने र अलमल गर्ने तथा समय मात्रै कटाउने तवरले राहत उपलब्ध हुन नसक्ने पनि उहाँले बताउनुभयो । भूकम्पप्रभावित क्षेत्रमा कस्तो आवासस्थल बनाउने भन्ने विषयमा विज्ञको सुझाव लिएर मात्र अगाडि बढ्न आग्रह गर्दै अध्यक्ष दाहालले त्यसका लागिसमेत सरकारी तथा गैरसरकारी निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले प्राकृतिक विपत्तिमा परेका जनतालाई प्रभावकारी राहत प्रदान गर्न र पुनःनिर्माणको कामलाई व्यवस्थित गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभयो । प्रष्ट कार्ययोजनाका साथ राष्ट्रिय सहमतिको सरकार गठन भए त्यसले जनतालाई सेवा प्रदान गर्ने बताउँदै उहाँले झण्डा हल्लाउन र केही व्यक्तिलाई मन्त्री बनाउन मात्रै गठन हुने सरकारले कुनै पनि समस्याको समाधान नगर्ने बताउनुभयो । नेपालको आवश्यकता र विशिष्टताका आधारमा मात्रै विदेशी मित्रराष्ट्रको सहयोग लिनुपर्ने र त्यसलाई परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भूकम्पप्रभावित जनतालाई तत्काल राहत प्रदान गर्न आफ्नो तर्फबाट सरकारलाई दबाब दिने विश्वास दिलाउनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
एमाले र एमाओवादीको उच्चस्तरीय वार्ता
नेकपा (एमाले) र एकीकृत (माओवादी)का शीर्ष नेताबीच बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भेटवार्ता भएको छ । एमालेका तर्फबाट अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष विद्यादेवी भण्डारी र एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल र नेता डा बाबुराम भट्टराईबीच भेटवार्तामा सहभागी हुनुहुन्थ्यो । अपराह्न ४ः३० बजेदेखि करिब एक घन्टा भेटवार्ता भएको एमाले अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो । दुई दलका नेताबीच भूकम्पपीडितलाई वितरण गरिएको राहत, पुनः निर्माण र व्यवस्थापनलाई चुस्त बनाउने तथा समसामयिक राजनीतिका बारेमा समेत छलफल भएको बताइएको छ ।