यो वर्ष गणतन्त्र दिवसमा औपचारिक कार्यक्रम नहुने


Republic Day भूकम्पको विपत्तिमा पारेका कारण प्रत्येक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवसका औपचारिक तथा अनौपचारिक कार्यक्रम यस वर्ष नहुने भएका छन् । गत वैशाख १२, १३ र २९ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिका ठूला पराकम्पनबाट प्रभावित भएकाहरूको उच्च प्राथमिकताका साथ खोज, उद्धार र राहत जारी नै रहेको तथा पुनःनिर्माण एवं पुनःस्थापनामा सिङ्गो मुलुक जुटिरहेको हुँदा राष्ट्रिय उत्सवका रूपमा मनाइने गणतन्त्र दिवसका कार्यक्रम यस वर्ष प्रभावित हुने भएका हुन् । देशमा गणतन्त्र स्थापनापछि प्रत्येक वर्ष गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादवले आयोजना गर्दै आउनुभएको स्वागत तथा जलपान समारोह पनि यस वर्ष नहुने भएको छ । नेपालमा छ दशक अघिदेखिका विभिन्न सङ्घर्षको जगमा भएको विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको निर्वाचनपछि विसं २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनले मुलुकमा ठूलो जनधनको क्षति भएको दुःखद् अवस्थामा यस वर्ष गणतन्त्र दिवसमा स्वागत तथा जलपान समारोह आयोजना नगरिने भएको हो । त्यस्तै सरकारले हरेक वर्ष जेठ १५ का दिन स्थानीय सैनिक मञ्चमा राष्ट्रपतिको उपस्थितिमा गणतन्त्र दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउँदै आएकामा यस वर्ष उक्त कार्यक्रम नहुने भएको छ । उक्त दिन देशका सबै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित मुलुकका कूटनीतिक निकायमा समेत गणतन्त्र दिवसका कार्यक्रम प्रभावित हुने भएका छन् । देशमा गणतन्त्र स्थापनाको सातौंँ वर्ष बितिसके पनि देशले अझैसम्म पनि संविधानसभाबाट लोकतान्त्रिक संविधान पाउन सकेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]