अमेरिकी हेलिकप्टर दुर्घटना तथा त्यसमा सवार गैरसैनिकबारे अनुसन्धान जारी, डीएनए परीक्षणको तयारी


us helicopterभूकम्पपीडितको सहायतार्थ राहत सामग्री बोकेर उडेको अमेरिकी हेलिकप्टर दुर्घटना र त्यसमा गैरसैनिकसमेत सवार रहेका भनेर सञ्चारमाध्यममा आएका विवरणप्रति आफ्नो ध्यान आकृष्ट भएको स्पष्ट गर्दै नेपाली सेनाले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी वैशाख २९ गतेदेखि सम्पर्क विहीन भएको उक्त हेलिकप्टर यही जेठ १ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ११,२०० फिटको उचाइमा अवस्थित कालिञ्चोक डाडाँको उत्तरपूर्वी दिशामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र त्यसको अनुसन्धान भईरहेको बताएको छ । “दुर्घटनास्थल नेपाली सेनाको सुरक्षामा रहेको र अनुसन्धानका लागि थप मद्दत पुग्ने प्रमाणको खोजी गर्ने क्रममा यही ११ गते विगतमा नभेटिएको मानव अस्थिपन्जरको भाग दुर्घटनास्थलमा फेला परेको तथा उक्त अस्थिपञ्जरको भाग काठमाडाँै ल्याएर परीक्षण सुरु गरिएको छ । उक्त भाग मृतक अमेरिकी वा नेपाली सैनिक वा अन्य व्यक्तिको हो भन्ने पहिचान गर्न संयुक्त राज्य अमेरिकाको विशेषज्ञ टोलीको सहायता लिई डि.एन.ए. परिक्षण तथा संयुक्त रुपमा अनुसन्धान गरी पत्ता लगाउने प्रक्रिया समेत प्रारम्भ भैसकेको छ ”– विज्ञप्तिमा भनिएको छ । भूकम्पमा परी घाइते भएका दोलखाको लादुक र लामिडाँडा गाविसका पाँच जनालाई सोही जिल्लाको सिँगटी बजारबाट उपचारको निमित्त हेलिकप्टरद्वारा उद्धार गरी लगेकामा घाइतेका आफन्तले स्थानीय र काठमाडौँका विभिन्न अस्पतालमा खोजतलास गर्दा हालसम्म फेला नपरेको भन्नेबारेमा पनि सेनाले स्थानीय प्रशासन र अन्य सुरक्षा निकायका साथै दोलखा, धुलिखेल, बनेपा र काठमाडौँका अस्पताल खोजबिन गरिरहेको स्पष्ट गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]