नेपाली सेनाले रु दुई अर्बसम्मको राहत कार्यक्रम उपलब्ध गराउने

नेपाली सेनाले भूकम्पबाट पीडित बहालवाला र अवकाश प्राप्त सैनिक र तीनका परिवारका लागि रु दुई अर्बसम्मको राहत कार्यक्रमको घोषणा गरेको छ । भूकम्पमा परेर ज्यान गुमाएका तथा घर भत्केका बहालवाला र अवकाश प्राप्त सैनिकलाई सैनिक कल्याणकारी कोषबाट राहतका लागि रकम उपलब्ध गराउने निर्णय भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानसेनापति एवम् सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गौरवशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअनुसार विनाशकारी भूकम्पमा परेर मृत्यु भएका वहालवाला सकल दर्जाका परिवारलाई सेनाले समान रूपमा रु तीन लाख २५ हजारको दरले सहयोग उपलब्ध गराउने छ । त्यस्तै, दुर्घटना बिमा र साधारण बिमाबापत कोषबाट अधिकृतको हकमा रु दुई लाख ७५ हजार, पदिकका लागि रु दुई लाख २५ हजार र अन्य दर्जालाई रु एक लाख ७५ हजार प्रदान गरिने बताइएको छ । भूकम्पमा परेर ज्यान गुमाएका अवकाश प्राप्त सबै दर्जाका सैनिकका हकवालालाई समान रूपमा प्रतिमृतक रु तीन लाख २५ हजारका दरले राहतबापतको सहयोग रकम उपलब्ध गराउने निर्णय भएको निर्देशनालयले जनाएको छ । कर्तव्य पालनाको सिलसिलामा अङ्गभङ्ग भएका बहालवाला सैनिकलाई अशक्तताका आधारमा रु एक लाखसम्मको आर्थिक सहयोग सङ्गठनले उपलब्ध गराउने छ । सेनाले भूकम्पबाट बहालवाला तथा अवकाश प्राप्त सैनिकहरूमध्ये पूर्णरूपमा घर क्षति भएकालाई आवासको व्यवस्था गर्न रु ५० हजार तथा आंशिक रूपमा क्षति भएकालाई रु २५ हजार सहयोग उपलब्ध गराउने छ । भूकम्पमा परेर निधन भएका बहालवाला तथा अवकाश प्राप्त सैनिकका टुहुरा छोराछोरीलाई कक्षा एकदेखि विद्यालयमा अध्ययन गर्न प्रधानसेनापति छात्रवृत्तिको व्यवस्था मिलाएको सेनाले जनाएको छ । कर्तव्यपालनाको सिलसिलामा ज्यान गुमाएका सैनिकका दुई सन्ततिलाई उच्चमाध्यमिक तहसम्मको निःशुल्क अध्ययन गर्ने चाँजोपाँजो सैनिक महाविद्यालयमा मिलाइएको पनि प्रेस विज्ञप्तिमा जनाइएको छ । भूकम्पमा परेर बहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनका आश्रित परिवारका बाबुआमा, श्रीमान्–श्रीमती र नाबालक सन्ततिको निधन भएको रहेछ भने उनीहरूको हकवालालाई रु १० हजार सहयोग उपलब्ध गराउने सेनाले जनाएको छ । गत वैशाख १२ गते गएको ठूलो भूकम्पमा परेर नेपाली सेनाका बहालवाला आठ जना जवानको निधन हुनुका साथै १० जना बेपत्ता भएको निर्देशनालयले जनाएको छ । भूकम्पपछिको घटनामा परेर ३० जना सैनिक घाइते भएका थिए । भूकम्पपछिको राहत र उद्धारमा खटिरहेको अवस्थामा नेपाली सेनाका एक अधिकृतसहित दुई जनाको हेलिकप्टर दुर्घटनामा ज्यान गएको थियो । नेपाली सेनामा हाल करिब ९५ हजार जनशक्ति रहेको तथा ६५ हजारको हाराहारीमा भूपू सैनिक रहेको बुझिएको छ । हालै गएको भूकम्पबाट प्रभावित जिल्लामा भूतपूर्व सैनिकहरूको उल्लेख्य रूपमा बसोबास रहेको छ ।