पूर्वाधार निर्माणमा जाइकाले सघाउने, प्रधानमन्त्री र अर्थमन्त्रीसँग जाइकाका अध्यक्षको भेटवार्ता

प्रधानमन्त्री सुशील कोइरालासँग जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष अकिहिको तानकाले भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले अध्यक्ष तानकालाई भूकम्प प्रभावित क्षेत्रका जनतालाई प्रभावकारी रूपमा राहत तथा पुनःस्थापनाका लागि प्राविधिक एवं आर्थिक सहयोग गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री कोइरालाले भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोग नदोहोरियोस् भनेर सरकारले एकद्वार प्रणालीमार्फत उद्धार तथा राहतका कार्य गरिरहेको जानकारी दिँदै सरकारले स्थापना गरेको राहत तथा पुनःनिर्माण कोषमा सहयोग गर्न अनुरोध गर्नुभएको थियो । नेपाल भ्रमणमा रहेको जाइकाका अध्यक्ष तानका नेतृत्वको प्रतिनिधिमण्डलले भेटका क्रममा नेपालमा भूकम्प प्रभावित क्षेत्रमा जस्तोसुकै सहयोगका लागि आफूहरू प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्रीका पराराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिनुभयो । अध्यक्ष तानकाले प्रधानमन्त्री कोइरालासँग नेपालको विपत्तिमा आफूहरूले सक्दो आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने बताउनुभएको थियो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइकाका) अध्यक्ष अकिहिको तानाकाले भेटेर शिक्षा, स्वाथ्यलगायतका पूर्वाधार निर्माणमा नेपाललाई सघाउन जाइका इच्छुक रहेको बताउनुभएको छ । अर्थमन्त्री डा रामशरण महतसँग उहाँको कार्यकक्षमा भएको भेटमा जाइका अध्यक्षले भूकम्पपछिको पुनःनिर्माणमा ठूलो सहायता रकम जुटाउनुपर्ने भएकाले त्यसनिम्ति नेपाल सरकारले आयोजना गर्न लागेको सहायता सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । नेपालको आवश्यकता र प्राथमिकताअनुसार जाइकाले सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ । अर्थमन्त्री डा महतले आगामी असार १० गते नेपाल सहायता सम्मेलन आयोजना गरिने जानकारी दिँदै उक्त सम्मेलनमा जापान सरकारको तर्फबाट उच्च नेतृत्वको सहभागिता नेपालले अपेक्षा गरेको बताउनुभयो । उहाँले भूकम्पले नेपालका निजी घर तथा सम्पत्ति, सरकारी कार्यालय, अस्पताल, विद्यालय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्पदामा ठूलो क्षति पु¥याए पनि सरकार तिनलाई चाँडै पुनःनिर्माण गर्ने र अझ व्यवस्थित तुल्याउन दृढ रहेको बताउनुभयो । भूकम्पले नासिएका संरचना पुनःनिर्माणका लागि मित्रराष्ट्र तथा दातृ निकायबाट ठूलो सहयोगको अपेक्षा नेपालले गरेको बताउँदै उहाँले भन्नुभयो, “ ऋणभन्दा अनुदान र सामानभन्दा नगदमा सहायता चाहिएको छ ।”