जब नेता नेपालले ज्याबल समाए…

मुलुकलाई दिशा निर्देश गर्न सधैँजसो राजनीतिक भेटघाट तथा राष्ट्रिय राजनीतिमा सक्रिय रहने नेकपा (एमाले)का नेता माधवकुमार नेपाल स्थानीय सामुदायिक विद्यालयको पुनःनिर्माणमा सक्रिय रहनुभयो । भूकम्प प्रभावित क्षेत्रमा भूकम्पपीडित तथा सामाजिक महत्वका संरचना निर्माणका लागि अस्थायी आवास तथा भवन निर्माण गर्ने उद्देश्यका साथ राष्ट्रिय श्रम अभियानलाई सफल बनाउन नेता नेपाल आज टाउकामा हेल्मेट र हातमा ज्याबल बोकेर काममा लाग्नुभयो । युवा सङ्घ नेपालका ज्याकेट लगाएका स्वयम्सेवकले त्यस क्षेत्रमा आयोजना गरेको पुनःनिर्माणको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री नेपाल विद्यालयको अस्थायी भवन निर्माणका लागि सो विद्यालयको मैदानमा उभिएपछि स्थानीयवासी, स्वयम्सेवक तथा कार्यकर्ताले उत्साहित भई उहाँलाई साथ र सहयोग गरेका थिए । त्यहाँ एकीकृत भएका स्वयम्सेवक पनि बाँस र जस्तापाताबाट तयार हुने अस्थायी टहरो निर्माणमा तत्काल जुटिहाले । उनीहरूले डोरीले कक्षा कोठाको आकार निकाल्दै बाँसलाई आकारअनुसार कटान तथा जस्तालाई आवश्यकताअनुरुप उल्टाउन पल्टाउन थाले । सामाजिक कार्यमा युवालाई परिचालन गरिएको सो दृश्य कम रोचक थिएन । विनाशकारी भूकम्पले मुलुकका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको, त्यसबाट करिब सात लाख घर बिग्रिएको, कैयौँलाई विस्थापन गरेको र ठूलो सङ्ख्यामा घाइते भएको अहिलेको समयमा युवा सक्रिय भई सामाजिक कार्यमा जुट्नाले पीडितको पीडालाई केही कम गर्ने विश्वास नेता नेपालले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“सरकारले भूकम्पपीडितलाई रु १५ हजारबाट रु ५० हजार पु¥याई सहयोग वृद्धि गर्नुपर्छ ।” उहाँले विद्यालयलाई प्रथमिकतामा दिई पुनःनिर्माण गर्नुपर्नेमा जोड दिँदै कार्य सक्षमता तथा जनशक्तिले भ्याएसम्म जनताको सेवामा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । सो विद्यालयमा १७ कोठा रहेकामा भूकम्पका कारण नौ कोठा बस्नै नमिल्ने गरी भत्किएको छ । प्राविधिकले ती कोठामा कक्षा सञ्चालन नगर्न सुझाव दिएका छन् । करिब २०० विद्यार्थी अध्ययन गर्ने सो विद्यालय पुनःसञ्चालन गर्न अस्थायी भवन निर्माणको आवश्यकता रहेकाले स्वयम्सेवक त्यहाँ केन्द्रित भएका हुन् । विद्यालयका प्रअ अर्जुनप्रसाद लामिछानेले ठूलो सङ्ख्यामा त्यहाँ खटिएका स्वयम्सेवकले श्रमदान गरेपछि विद्यालयको अस्थायी भवन द्रुतगतिमा बन्ने विश्वास गर्दै सोही भवनमा छिट्टै कक्षा सञ्चालन गर्न सकिने जानकारी दिनुभयो । ‘नेपाली योजना ः अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्व ः हरेक नेपालीको साथ’ भन्ने नाराका साथ एमालेले भूकम्प प्रभावित क्षेत्रमा आइतबारदेखि ‘राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान’ सुरु गरेको हो । सो अभियान राहत र पुनःस्थापनाका लागि एक महिनासम्म जारी रहने छ । सत्र जिल्लाका ५१ निर्वाचन क्षेत्रमा केन्द्रीय नेतासहितको १० हजारको टोली परिचालित छ । स्थानीय शमिष्ठा अधिकारीले जनतालाई पुनःस्थापना गराउन तथा बिग्रिएका विद्यालयलगायत सामाजिक भवन बनाउन स्वयम्सेवकले गरेको भूमिकाको सराहना गर्दै त्यस कार्यले स्थानीय बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले त्यस आसपास क्षेत्रका विपन्न जनताका लागि पनि टहरा बनाइदिन आग्रह गर्नुभयो । पार्टीका विभिन्न भ्रातृ सङ्गठनले गत वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका पराकम्पनबाट काठमाडौँ उपत्यकालगायत अन्य प्रभावित स्थानमा उद्धार, राहत, औषधि वितरण र स्वास्थ्य शिविर सञ्चालन गरी लाखौँ नागरिकको पीडामा सहभागी भई मलहम लगाएका छन् ।
महासचिव पोखरेलको आग्रह
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले भूकम्पका कारण विस्थापित भएका जनताको घर पुनःनिर्माण गर्दा उनीहरूको सेवाको भावनालाई केन्द्रमा राखेर अघि बढ्न स्वयम्सेवकलाई निर्देशन दिनुभएको छ । टोखा नगरपालिका–३ स्थित फैडोलमा स्वयम्सेवकले गरेको स्थानीयको घर टहरा पुनःनिर्माणको निरीक्षण गर्दै उहाँले अहिले मुलुकमा उत्पन्न भएको विपद्को अवस्थामा अस्थायी आवास निर्माणका साथै त्रसित मानिसलाई सामान्य अवस्थामा फर्काउन निःस्वार्थ भावनाले श्रमदान गर्न आग्रह गर्नुभयो । महासचिव पोखरेलले त्यस क्षेत्रमा खुला आकाशमुनि तथा पालमा बसेका जनतालाई राजनीतिभन्दा माथि उठेर छानामुनि ल्याउन खाँचो रहेको औँल्याउँदै स्थानीय गाउँलेलाई श्रमदानको बोझ भारबाट मुक्त गरी पुनःनिर्माणको अभियान एक महिनासम्म जारी राख्न सुझाव दिनुभयो । स्थानीय शोभा डङ्गोलले भूकम्पका कारण आफ्नो दुई तले घर भत्किएपछि बासको समस्या परेकामा अहिले स्वयम्सेवकले टहरा निर्माणमा सहयोग गरेकाले छिट्टै अस्थायी बसोबास गर्न पाइने बताउनुभयो ।