राजधानीको एड्भान्स्ड स्कुलमा आजदेखि पढाइ सुरु, विद्यार्थी भन्छन् भूकम्पबाट डराइँदैन

भरिभराउ कक्षा कोठामा शिक्षक पढाइरहेका छन् । विद्यालयको औपचारिक पोशाक नलगाएका विद्यार्थी एकाग्र चित्तले सुनिरहेका छन् । प्रधानाध्यापकसहित केही शिक्षक भने भोलि पढाउने पाठ्यक्रम तयार पारिरहेका छन् । यो दृश्य राजधानीको हाँडीगाउँमा रहेको एड्भान्स्ड सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलको हो । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि राजधानीलगायत धेरै ठाउँका विद्यालय औपचारिक रुपमा १७ जेठबाट मात्र खुल्ने कुरा छ । तर एड्भान्स्ड स्कुलले भने आजदेखि नै पढाइ सुरु गरेको छ । पहिलो दिन कक्षा ८, ९ र १० को कक्षा सञ्चालन भइरहेको र करिब ६० प्रतिशत विद्यार्थी निर्धक्क विद्यालय आएकाले चाँडै अन्य कक्षा पनि सञ्चालन गर्ने मनोबल बढ्दै गएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम देवकोटा बताउनुहुन्छ । विद्यालयमा कुनै भौतिक क्षति नभएकोले कक्षा सञ्चालन गर्न समस्या नभएको उहाँको भनाइ छ । जिल्ला शिक्षा कार्यालयले स्रोतकेन्द्रमा विद्यालयका प्रतिनिधि बोलाएर भूकम्पपछि विद्यार्थीलाई कस्तो खालको शिक्षा दिने विषयमा तालिम दिइराखेको छ । त्यही तालिमबाट सिकेको कुरा आफ्ना शिक्षक तथा विद्यार्थीलाई प्रधानाध्यापक देवकोटा सिकाइराख्नु भएको छ, जसमा भूकम्पपछिको जीवनलाई सामान्य बनाउन सहयोग गर्ने खालको मनोसामाजिक तालिम हासिल गरेको भनाइ उहाँको छ । “भूकम्पले आफैँमा मानिस मार्दैन, हाम्रोमा तयारी नपुगेर मात्र क्षति भएको हो र अब भूकम्प निरोधक घर बनाउनुपर्छ भन्ने खालका कुरा हामीले विद्यार्थीलाई सिकाइरहेका छौँ, आज एक दिनमै उनीहरुको डर धेरै कम भइसकेको छ”, उहाँले भन्नुभयो । प्रधानाध्यापक देवकोटाका अनुसार अहिले ४० मिनेटको एउटा पिरियडमा २० मिनेट भूकम्पबाट बच्ने उपायका साथै त्यससम्बन्धी अध्ययन गराइने तथा बाँकी २० मिनेट नियमित पाठ्यक्रमको अध्यापन गराइराखिएको छ । “मुलतः भूकम्पबाट बच्न सफल मानिस र क्षति कम भएको ठाउँको उदाहरण दिएर विद्यार्थीको मनमा भएको डर कम गराइरहेका छौं”, उहाँले भन्नुभयो । कक्षा १० की छात्रा विविका बस्नेत पहिलो दिन लिएको शिक्षाले नै नियमित आएर पढ्न सक्ने बनाइसकेको बताउनुहुन्छ । “भूकम्प भनेको प्रकृतिको एउटा नियमित प्रक्रिया हो, आउँछ, जान्छ, भाग्नुहुन्न, आत्तिनुहुन्न कसरी बच्ने भन्ने सोचेर सुरक्षित स्थान खोज्नुपर्छ भन्ने सिकेँ”, उहाँ भन्नुहुन्छ । अब त भूकम्पसँग सोही कक्षाका निशान रासकोटी पनि डराउन छोडिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “घरमा हुँदा अरुका कुरा सुनेर पनि होला धेरै डर लाग्थ्यो, तर जब विद्यालय आएर वास्तविकता थाहा भयो, डर धेरै कम भएको छ ।” कक्षा ८ मा अध्ययनरत् छात्रा स्मृति मानन्धर भन्नुहुन्छ, “भूकम्प के हो थाहा पाइयो, बच्ने उपाय सिकियो, अब त डर नै हरायो ।” शिक्षक किशोर पराजुलीलाई लागेको थियो भूकम्पबाट विद्यार्थी धेरै डराएका छन् । तर विद्यार्थीसँग प्रत्यक्ष भेटघाट भएपछि उहाँलाई थाहा भयो उनीहरु सामान्य अवस्थामै छन् भन्ने । “आफूले पहिले सोचेजस्तो विद्यार्थी डराएका रहेनछन्, त्यसैले अबको लक्ष्य भूकम्पको डरले उपत्यका छोडेकालाई फर्काउने हुनेछ”, पराजुलीले भन्नुभयो ।