भारतले गण्डक व्यारेजका सबै ढोका खोल्यो

कालीगण्डकीमा पहिरोको कारण म्याग्दीको राम्चेमा कालीगण्डकी नदी थुनिएपछि गण्डक व्यारेजका सबै ढोका खोलिएको छ । थुनिएको पानी आउँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै यसो गरिएको हो । बन्द भएको बहाव एकै पटक खुलेको खण्डमा नारायणी नदीको बहावसमेत बढ्ने र यस आसपासका क्षेत्रमा क्षति पुग्ने सम्भावनालाई मध्यनजर गर्दै ब्यारेजका सबै ढोका खुल्ला गरिएको हो । कालीगण्डकी नदीको बहाव रोकिएपछि भारतको बिहार र उत्तर प्रदेश क्षेत्रमा पनि यसको असर पर्ने भन्दै प्रशासनले बिहान नै यसबारेमा भारतीय अधिकारीहरुलाई जानकारी गराएको थियो । व्यारेजको ढोका नखोल्दा ताल खोलिएर आएको पानी जम्मा भएर गण्डक बाँधलाई फुटाउने खतरा हुन्छ । नेपालको गण्डक व्यारेजदेखि पूर्वतिरको बस्तीमा प्रभाव पार्दछ । भारतीय पश्चिमी गण्डक व्यारेज २०३६ सालमा निर्माण गरिएको हो । भारत र नेपाल दुवैलाई गण्डक व्यारेज खोल्ने र बन्द गर्न समान अधिकार भए पनि भारतले एकलौटी रुपमा आÏनो अनुकुलता अनुसार व्यारेज खोल्ने र बन्द गर्ने गर्छ । यसैबीच, प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिका संयोजक हरिप्रसाद मैनालीले नवलपरासीमा पनि त्यसको जोखिम पर्नसक्ने भएकोले कालीगण्डकी नदी आसपासका पहाडी क्षेत्रका बासिन्दा र कालीगण्डकी नदी मिसिने नारायणी नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको बताउनुभएको छ । म्याग्दीमा नदी थुनिएपछि एक्कै पटक नदी फुटेको खण्डमा नवलपरासीको पहाडी क्षेत्रका बुलिङ्गटार, डेढगाउँ, कोटथरका साथै पहाडका सात गाविस र तराईका गैँडाकोट नगरपालिकादेखि कावासोती नगरपालिकाको पिठौली, त्रिवेणी सुस्ता, नर्सही, पक्लिहवा, कोल्हुवालगायत २० भन्दा बढी गाविस प्रभावित हुने देखिएको छ । अहिले गण्डक ब्यारेज आसपासका स्थानीयलाई सर्तक रहन आग्रह गर्दै माइकिङ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।