अर्को विपत्ति : कालीगण्डकी नदी थुनिएपछि यतिबेला म्याग्दीमा त्रास

कालीगण्डकी नदी थुनिएपछि यतिबेला म्याग्दीमा त्रास छाएको छ । नदी थुनिएका कारण सदरमुकाम बेनीसहित नदी किनाराका बस्तीहरु खतरामा परेका छन् । प्रहरी र सेनाले स्थानीय बासिन्दालाई सुरक्षित रहन माईकिंग गरेका छन् भने धेरैजसो नदी किनाराका बासिन्दाहरु मध्यराति नै सुरक्षित ठाउँतर्फ जान बाध्य भएका थिए । म्याग्दीको राम्चे गाविस ९ स्थित बैसरी भन्ने ठाउँमा पहिरो गएपछि नदी पुरिएको हो । अहिले त्यहाँ ठूलो ताल बन्ने क्रममा रहेको छ । र, कतिबेला त्यो अबरुद्ध पानी खुल्ने हो यकिन छैन । यसैबीच, पहिरोका कारण भगवती गाविस २ मा ठूलो क्षति भएको खबर आएको छ । यद्यपि यस विषयमा थप जानकारी भने आएको छैन । मध्यरातिपछि नदी थुनिएपछि घतान, पिप्ले, घुमाउने ताल, भगवती, बेनीबजार, गलेश्वर, तातोपानी, तित्ल्यांग, बेगखोला, महभीर, पोखरेबर, घारखोला लगायतका स्थान जोखिममा परेका छन् । म्याग्दी सेवा समिति अष्ट्रेलियाका अध्यक्ष एवं एनआरएन उपाध्यक्ष हरि राम्जालीले सरकारले तत्कालै यसमा तदारुकताका साथ पहल गरी सुरक्षित रुपमा नदीको बहावलाई पूर्वअवस्थामा ल्याउन प्रयत्न गर्नुपर्ने बताउनुभयो । थुनिएको ठाउँमा बनेको ताल भरिन अझै केही घण्टा लाग्ने र यसपछि मात्रै भmरेर अबरुद्ध बनाएको माटोले पानी थेग्ने हो कि होइन यकिन हुने बताइएको छ । पहिरो गएको ठाउँमा रहेको बस्ती यसअघि नै स्थानीय प्रशासनले हटाइसकेको कारण कुनै मानवीय क्षति भने भएको छैन । कालीगण्डकी नदी थुनिएपछि कालीगण्डकी ए परियोजनाका सबै टर्बाइन चलाएर ड्यामलाई खाली गर्न लागिएको छ । यसो भएको अवस्थामा पानी यहीँसम्म आएर रोकिने सम्भावना छ । अन्यथा ड्याममा क्षति पुग्ने अवस्था देखिएको सुरक्षा अधिकारीहरुले बताएका छन् । नेपाली सेनाको एक टोली यतिबेला घटनास्थलतर्फ लागेको छ ।