ऐतिहासिक मठ मन्दिरका मूर्तिहरु हराउने शंका ?

यही वैशाख १२, १३ र २९ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले हालसम्म क्षतिग्रस्त ६२६ सम्पदामध्ये पूर्ण क्षतिग्रस्त १३७ तथा आंशिक र सामान्य क्षति भएकामा ४८९ छन् । काठमाडौँमा मात्र २२९ सम्पदामा क्षति पुगेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो । वैशाख १२ गतेको भूकम्पबाट त्रिपुरेश्वरमा रहेको करिब १५० वर्ष पुरानो जङ्गहिरण्यहेमनारायण मन्दिर पनि पूर्ण क्षतविक्षत भएको छ । मन्दिरमा पूजापाठ सञ्चालन गर्ने गुठी संस्थानको शाखा कार्यालयमा पनि क्षति पुगेको छ भने क्षतिग्रस्त मन्दिर परिसरमा विष्णु, नारायण, लक्ष्मी, सरस्वतीलगायतका मूर्ति राखिएका छन् । सामुन्ने बसेका सुरक्षाकर्मीले चौबीसै घन्टा सुरक्षा दिइरहेका छन् । भूकम्पबाट जङ्गहिरण्य हेमनारायण मन्दिरसँगै अन्य प्राचीन मठमन्दिर, दरबार पाटीपौवा आदिमा समेत क्षति पुगेको छ । “क्षतिको लागत सङ्कलन गर्न हामीले देशभर कर्मचारी खटाएका छौँ पूर्ण विवरण भने अझै आउन बाँकी छ”, दाहालले भन्नुभयो । हनुमानढोका, ललितपुर र भक्तपुर दरबार तथा दरबारपरिसर, काष्ठमण्डप, बुङमतीमा अवस्थित रातो मच्छिन्द्रनाथ तथा भैरवनाथ, त्रिपुरेश्वरको महादेव मन्दिर, चाँगुनारायण मन्दिरलगायत राष्ट्रिय सम्पदामा क्षति पुगेको छ । ती सम्पदाको क्षति हुँदा निकालिएका गजुर, कलाकृतियुक्त भाग, पूजा सामग्री, घन्टी, सिंहका मूर्ति, टँुडाल, मच्छिन्द्रनाथको भोटो तथा काष्ठमण्डपका भग्नावशेषलगायत सुरक्षित रुपमा राख्न विभागलाई जिम्मेवारी दिइएको गुठी संस्थानका उपप्रशासक सरोज थपलियाले बताउनुभयो । संस्थानका सहप्रशासक हेमराज सुवेदीका अनुसार रातो मच्छिन्द्रनाथको भोटो सुरक्षाकर्मीको पहराबीच बुङमतीकै ठूलो गुठीको भवनमा संरक्षणका लागि राखिएको छ । कतिपय सम्पदा सुरक्षाकर्मीको निगरानीमा सम्बन्धित सम्पदाको परिसरमा राखिए पनि सुरक्षाका दृष्टिकोणले संवेदनशील ठानिएका सम्पदालाई छाउनीस्थित सङ्ग्रहालयमा राखिएको विभागका प्रवक्ता रामबहादुर कँुवरले बताउनुभयो । “सुरक्षाकर्मी तथा स्थानीवासी र सर्वसाधारणकै सहभागितामा गुठी संस्थान र पुरातत्व विभागका कर्मचारीसमेत मिलेर सम्पदाको ‘रेस्क्यु अपरेसन’को काम भइरहेको छ, हामीले सम्पदा परिसरको सरसफाइ गरिराखेका छौँ”, उहाँले भन्नुभयो । गुठी संस्थानका प्रशासक नारायण चौधरी भन्नुहुन्छ, “हाम्रो संस्था फेला परेका अमूल्य सम्पदा संरक्षण गर्न मनैदेखि लागिरहेकाले सम्पदा हराउने, मासिने या हिनामिना हुने कुरामा शङ्का नगर्न सबैलाई आग्रह गर्दछु ।”