विपत्तिको सामना गर्न त्रिविलगायत सबै शैक्षिक संस्था एकजुट हुने

राजधानीका निजी कलेजका प्रतिनिधिले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालय लगायतका शैक्षिक संस्थाको पुनःनिर्माणमा सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल प्राइभेट कलेज एसोसिएसनले गरेको छलफल कार्यक्रमका सबै सहभागीले त्रिवि सबै निजी शैक्षिक संस्थाको पनि मातृसंस्था भएको बताउँदै “आफ्नो अभिभावक दुःखमा पर्दा टुलुटुलु हेरेर बस्न नसक्ने” बताए । कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा हीराबहादुर महर्जनले त्रिविलगायत उसका करिब ६३ आङ्गिक क्याम्पसमा भएको क्षतिको विवरण पेस गर्नुभएको थियो । उहाँले शैक्षिक क्षेत्रको सबै शक्ति परिचालन गरेर भए पनि त्रिविको तत्काल पुनःनिर्माण गरिने बताउनुभयो । उपकुलपति महर्जनले तत्काल कक्षा सञ्चालन गर्ने अवस्था भइनसकेको भए पनि सबै शिक्षक, कर्मचारी मिलेर व्यवस्थापनमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले परिस्थिति सहज भएको खण्डमा शैक्षिक पात्रो बिग्रन नदिन र आइरहेको परीक्षालाई समेत ध्यानमा राख्दै २२ जेठदेखि शैक्षिक संस्था खोल्न सकिने बताउनुभयो । “खोलेकै दिनदेखि पढाउनै पर्छ भन्ने छैन, शिक्षक तथा विद्यार्थीको मनोबल बढाउनेखालका क्रियाकलाप गर्न सकिन्छ”, उहाँले भन्नुभयो । त्रिविका (रजिष्ट्रार) प्रा डा देवराज अधिकारीले केन्द्रीय क्याम्पसमा मात्र नभएर त्रिचन्द्र, सरस्वती, पाटन तथा भक्तपुरलगायतका क्याम्पसमा पनि क्षति पुगेको जानकारीइ दिँदै क्याम्पसका पहिले प्रयोगमा नल्याएका कोठा उपयोग गरेर भए पनि जेठ २२ देखि कक्षा सञ्चालन गर्नुपर्ने विचार राख्नुभयो । नेपाल प्राइभेट कलेज एसोसिएसनका अध्यक्ष डा राजेन्द्र केसीले त्रिवि समस्यामा परेका बेला देशभर रहेका एक हजार ५६ सबै निजी कलेज नै सहयोगका लागि जुट्ने आश्वासन दिनुभयो । हिसानका उपाध्यक्ष रमेश सिलवालले त्रिवि सबैको शैक्षिक अभिभावक भएको निजी कलेजमा भएको क्षतिबारे पनि अनुगमन गर्नुपर्ने बताउनुभयो । एभरेष्ट इन्टरनेसनल कलेजका सकुन्दराज अर्यालले त्रिविलाई सहयोग स्वरुप रु एक लाख सहयोगको चेक हस्तान्तरण गर्नुभयो । त्रिविले भूकम्पको क्षति व्यवस्थापन गर्न रु एक अर्ब ५० करोडबराबरको थप बजेट आवश्यक रहेको भन्दै ‘त्रिवि भूकम्पीय पुनःनिर्माण कोष’ सञ्चालनमा ल्याएको छ । सहयोग गर्न चाहनेहरूले नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखाको खाता नं ४५–१०८४१७३ मा रकम जम्मा गर्न सक्ने छन् ।