मलेसियामाथि नेपालको शानदार जीत, कुशलको अर्को विष्फोटक ब्याटिङ

काठमाडाैँ । नेपालमा जारी ‘ट्राइ नेशन्स टि२० सिरिज’मा नेपालले लगातार दोश्रो शानदार जित हात पारेको छ । सोमबार काठमाडाैँको टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियामाथि ९ विकेटको जीत हात पारेको हो । मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४७ बल बाँकी रहँदै भेट्टायो ।

नेपालको जीतका लागि कुशल भुर्तेलले ६१ रनको महत्वपूर्ण योगदान गरे । उनले ४१ बलमा अविजित रहँदै ६१ रन प्रहार गरेका हुन् । त्यस्तै, नेपालका लागि आशिफ शेखले २९ बलमा ४२ रन जोड्दा दिपेन्द्र सिंह एैरीले अविजित रहँदै ६ रन जोडे ।

बलिङतर्फ नेपालका करन केसीले ३ ओभरमा १७ रन खर्चिँदै ३ विकेट लिन सफल भए । ३ ओभर ५ बल बलिङ गरेका सन्दीप लामिछानेको नाममा २ विकेट रहँदा दिपेन्द्र सिंह एैरीले १ ओभरमा ७ रन खर्चिएर १ विकेट लिन सफल भए ।

मलेसियाका लागि सर्वाधिक रन सेयद अजिजले जोडे । उनले २४ बलमा २७ रन जोड्दा सर्बिन मुनान्डिनले १५ तथा साफिक शारिफले १३ रन जोडेका थिए ।

नेपालले जारी प्रतियोगिताको पहिलो खेलमा पनि नेदरल्याण्ड्समाथि ९ विकेटकै जीत हात पारेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team