कोइरालाकै नेतृत्वमा राष्ट्रिय सरकार : काँग्रेस


congressराष्ट्रिय सङ्कटको अहिलेको अवस्थामा सुशील कोइराला नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिएर विपत्तिको सामना गर्नुपर्नेमा नेपाली काँग्रेसले जोड दिएको छ । प्रधानमन्त्री निवासमा आज भएको काँग्रेस पदाधिकारी बैठकले सत्ता बाहिरका अन्य राजनीतिक दललाई सभापति कोइराला नेतृत्वको सरकारमा सामेल गराएर राष्ट्रिय स्वरुप दिनुपर्नेमा जोड दिएको पार्टी प्रवक्ता दीलेन्द्रप्रसाद बडूले राससलाई बताउनुभयो । बैठकमा सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालसँग यसअघि भएका कुराकानीका बारेमा जानकारी गराउनुभएको थियो । सभापति कोइरालाले भूकम्पपछि सिर्जित महाविपत्तिमा दलहरूबीच देखिएको राष्ट्रिय एकतालाई संविधान निर्माण र कार्यान्वयनको अवस्थासम्म लैजान आफू तयार रहेको बताउनु भएको प्रवक्ता बडूले बताउनुभयो । संविधानका विवादित विषयमा सहमति गर्न सबै राजनीतिक दललाई वर्तमान सरकारमा सहभागिताका लागि आव्हान गर्दै प्रधानमन्त्री कोइरालाले राजनीतिक सङ्क्रमणलाई छोट्याउनु पर्नेमा  जोड दिनुभएको थियो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा पुनर्बास र पुनर्निमाणसँगै संविधान निर्माणलाई पनि यथाशीघ्र टुङ्गोमा पु¥याउन सबै दलले एकताका साथ अघि बढ्नुपर्ने बताउनुभएको प्रवक्ता बडूले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]