आइपीएलः हैदरावादको लगातार तेस्रो हार !

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपीएल)मा शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदरावाद पराजित भएको छ । चेन्नईको चिदामबरम स्टेडियममा भएको खेलमा हैदरावादमाथि मुम्बईले १३ रनको जित निकालेको हो । हैदरावादको यो लगातार तेस्रो हार हो

टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो । १५१ रनको लक्ष्य पछ्याएको हैदरावाद दुई बल बाँकी छँदा अलआउट हुँदै १३७ रनमा समेटियो ।

मुम्बईका लागि क्विन्टन डिककले सर्वाधिक ४० रन बनाउँदा काइरोन पालार्डले ३५ रन जोडे । त्यस्तै, रोहित शर्माले ३२ रन बनाए। बलिङतर्फ हैदरावादका मुजीब रहमान र विजय शंकरले २–२ विकेट लिए भने खलील अहमेदले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको हैदरावादका लागि जोनी बेएरस्टोले ४३ रन बनाउँदा डेविड वार्नरले ३६ तथा विजय शंकरले २८ रन बनाए। मुम्बईका लागि ट्रेन्ट बोल्ट र राहुल चहरले ३–३ तथा जसप्रित बुमराह र क्रुनाल पाण्ड्याले १–१ विकेट लिए ।

तीनमध्ये दुई खेलमा जित निकाल्दै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हैदरावाद ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team