रातो मच्छिन्द्रनाथको भोटो भग्नावशेषबाट भेटियो, नेपाली सेनाद्वारा उद्धार, राहत, भग्नावशेष हटाउने काम जारी


bhotoभूकम्पबाट प्रभावित जिल्लामा उद्धार तथा राहतलाई समन्वयात्मक एवम् थप प्रभावकारी बनाउने सन्दर्भमा आज प्रधानसेनापति गौरवशम्शेर जबरासँग अमेरिकाको तेस्रो मेरिन एक्पेडिसनरी फोर्सका कम्यान्डिङ जनरल जोन इइ विस्लरले जङ्गीअड्डामा भेट गर्नुभएको छ । आजै भुटानको चिकित्सा टोलीका तीन र जापानका चिकित्सा टोलीका चार सदस्यले संयुक्त रुपमा भेटघाट गरेका छन् । सो अवसरमा प्रधानसेनापति राणाले नेपालीमाथि आइपरेको राष्ट्रिय विपद्को कठिन घडीमा मित्रराष्ट्रको विभिन्न टोली आई नेपाली सेनासँग संयुक्त रुपमा खोज, उद्वार, राहत तथा घाइतेको उपचार सेवामा पु¥याएको सहयोगको प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्र्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित धादिङ र दोलखा जिल्लाका विभिन्न स्थानमा सात हजार २५० केजी खाद्यान्न र तीन हजार १५० केजी राहत सामग्री पु¥याएको छ । त्यसैगरी भूकम्पको कारण विभिन्न स्थानमा स्थलमार्ग अवरुद्ध भई अलपत्र परेका दोलखा जिल्लाबाट आठ र धादिङबाट १८ नागरिकलाई हवाई साधनद्वारा उद्धार गरिएको छ । सेनाको चिकित्सा टोलीले आज सिन्धुपाल्चोक जिल्लाका चौतारा र घोर्थली, रामेछाप जिल्लाको चुचुरे गाविस तथा रसुवाको धुन्चेमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । त्यस्तै नेपाली सेना र भारतीय सेनाको चिकित्सा टोलीले संयुक्त रुपमा दोलखा जिल्लाको चरीकोटमा घुम्ती स्वास्थ्य शिविर तथा भारत, क्यानडा र जापानको संयुक्त टोलीले सिनामङ्गल, सुकुटे र टुँडिखेलमा ‘फिल्ड हस्पिटल’ सञ्चालन गरी भूकम्पबाट पीडित घाइतेको उपचार गरिरहेको छ ।
भोटो गुठी संस्थानलाई
नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले भूकम्पबाट बुङमतीस्थित रातो मछिन्द्रनाथको मन्दिर भत्किई भग्नावशेषमा पुरिई हराइरहेको रातो मछिन्द्रनाथको भोटो राखेको ढुकुटी लगातारकोे प्रयासपछि आज उत्खनन गरी फेला पारेको छ । उक्त ढुकुटी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यको उपस्थितिमा पुरातत्व विभागका प्रमुख, नेपाली सेनाको आर्टिलरी निर्देशनालयका निर्देशक सहायक रथी गङ्गाबहादुर गुरुङ, भग्नावशेष व्यवस्थापन संयुक्त कार्यदलका सहायकरथी देवकुमार सुवेदीलगायतको रोहबरमा खोली भित्र रहेको भोटो राखिएको थैलो बाँधिएको अवस्थामा यकिन गरी गुठी संस्थानलाई बुझाइएको छ । त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोली पशुपतिस्थित विश्वरुप मन्दिर, भीमसेन दरबार, नारायण मन्दिर, शिव मन्दिर, जगतनारायण, बुङ्मती मन्दिर, भक्तपुर फसिदेवल र बालाखु मन्दिर, चाँगुनारायण मन्दिर र इन्द्रेणी इलाकाको पुरातात्विक महत्वका संरचनाको भग्नावशेष व्यवस्थित गर्ने एवम् भग्नावशेषमा पुरिएका मूर्ति तथा विभिन्न पुरातात्विक महत्वका वस्तुको खोजी गरी सम्बन्धितलाई बुझाउने कार्यमा सक्रियताका साथ परिचालन भइरहेको निर्देशनालयले जनाएको छ । विनाशकारी भूकम्पको कारण अवरुद्ध विभिन्न सडकखण्ड खुलाउने क्रममा आज भारतको कम्ब्याट इन्जिनियर टोलीले भक्तपुर इलाकामा ३०० मिटर बाटो खोलेको, क्यानडाको टोलीले सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा पहिरो हटाएको र साँखुमा १२५ मिटरको बाटो खोलेको तथा चीनको इन्जिनियर टोलीले केरुङ–रसुवागढी सडकखण्डमा तीन चट्टान फुटाउनाका साथै लिङलिङको पहिरो हटाउने कार्य सम्पन्न गरेको जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]