एकसय साठी वर्ष पुरानो नमुना घर अझै दुरुस्तै

गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा कम्पनले भक्तपुरका हजाराँै घरलाई लडाए पनि भक्तपुरको दत्तात्रय नजिकै रहेको १६० वर्ष पुरानो घर भने अझै दुरुस्तै छ । भूकम्पको धक्काले नयाँ र पुराना घरलाई गल्र्यामगुर्लुम ढाले पनि सँगैको नमुना घर भने जिउँदै रहनुलाई स्थानीयले अचम्म मानेका छन् । हरेक दिन कैयाँै मानिस यही घर हेर्न आइपुग्छन् । सँगैका घर भत्किएपछि दत्तात्रयको नमुना घर के भयो भनेर चासो दिँदै हेर्न आउनेहरूको अझै कमी भएको छैन । जीर्ण बनेपछि मानिस बस्न छाडेर कुखुराको खोर बनाएको यो घरलाई १७ वर्षअघि सम्पदा संरक्षणमा जुटेका रवीन्द्र पुरीले रु सात लाखमा खरिद गरेका थिए । त्यसपछि जीर्ण बनेको यो घरलाई रु १५ लाख लगाएर जीर्णोद्धार गरेपछि नमुना घर नाम दिइएको यो घरले सन् २००४ मा युनेस्को अवार्ड पाएपछि चर्चामा आएको थियो । यही घरमा बस्दै आउनुभएका पुरीलाई अहिले दैनिक कैयाँै मानिसले एउटै प्रश्न गर्छन्– “भूकम्पले यतिका घर ढले तर यो पुरानो नमुना घर कसरी जिउँदै छ”, पुरी भन्नुहुन्छ, “बिहानदेखि साँझसम्म यो घर हेर्न आउने धेरै छन्, घर हेर्न आउँनेदेखि बाटोमा भेट्नेहरूले समेत नमुना घर कसरी जिउँदै भो भनेर प्रश्न गर्छन्, सबैको चासो बनेको छ, अहिले यो घर ।” भक्तपुरका अधिकांश घर बेलाबेलामा मर्मत नगर्दा भूकम्पको धक्काले भत्किएको उहाँ बताउनुहुन्छ । नमुना घरको उदाहरण दिँदै पुरी भन्नुहुन्छ, “हामी एकपटक घर बनाएर बस्छाँै, तर घरको कुन भाग कमजोर भएको छ, के मर्मत गर्नुपर्छ, घरलाई कसरी सधँै बलियो बनाइरहने भन्ने चासो कसैको हँुदैन, त्यसैले पनि भूकम्पमा धेरै घर भत्किएका हुन् ।” झिँगटीको छानो भएको यो घरमा अधिकांश काठको प्रयोग भएको छ, सिमेन्टको पिलर र बिम नभएको यो घर पुरानो परम्परागत शैलीमै बनेको घर हो । पुरी भन्नुहुन्छ, “यो घरको जग पुरानै हो, घरमा कुनै फेरबदल गरेको छैन, बिग्रिएका इँटा, काठ निकालेर नयाँ राख्दै जीर्णोद्धार गरिएको हो, नयाँ बनाएको होइन, घरको मर्मतमा ध्यान दिएकाले वैशाख १२ गतेदेखि आएको भूकम्प र पराकम्पनले यो घरलाई कुनै असर गरेन ।” नमुना घरको जीर्णोद्धार गर्दा परम्परागत रूपमा काठको चुकुल बिमको प्रयोग गरिएको उहाँले बताउनुभयो । त्यसको साथै आधुनिक टाई बिमकोसमेत प्रयोग गरेकाले १६० वर्ष पुरानो घरलाई पनि भूकम्पले अलिकति क्षति पनि पु¥याएन । ठूला घर बनाउनेभन्दा पनि बलिया घर बनाउनेतर्फ ध्यान जानुपर्ने सुझाव उहाँ दिनु हुन्छ । नमुना घरमात्रै होइन पुरीले परम्परागत शैलीमा बनाएका साँगाको नमुना बस्ती, पनौतीका ११ वटा घर, साँखुको मन्दिर, पाटीलगायत विभिन्न ठाउँमा परम्परागत शैलीमा बनाइएको घर, पाटी एवम् स्कुललाई समेत भूकम्पले कुनै असर नगरेको उहाँ बताउनुहुन्छ । घर बनाउनेहरूले नमुना घरबाट धेरै पाठ सिकेर घर बनाउनसके भूकम्पबाट धेरै हदसम्म जोगाउन सकिन्छ ।