रसुवागढी–केरुङ सडक खुलाउन चिनियाँ प्रहरी अहोरात्र खटिए

भूकम्पसँगै गएको पहिरोका कारण अवरुद्ध भएको रसुवागढी–केरुङ सडक खुलाउन चिनियाँ सशस्त्र प्रहरी अहोरात्र खटेको छ । केरुङस्थित सुक्खा बन्दरगाहसम्म पुग्ने उक्त सडक खुलाउन काम थालेको चिनियाँ प्रहरीको टोलीले सोमबारसम्ममा सवारीसाधान सञ्चालन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । भूकम्पबाट अति प्रभावित रसुवामा राहत तथा उद्धारका काम सञ्चानल गर्न कठिनाई भएपछि नेपाल सरकारको अनुरोधमा चिनियाँ टोलीले दिनरात खटेर सडक सफाइ र मर्मतसम्भारको काम थालेको हो । यसैगरी चीनले पहिरोका कारण बन्द भएको अरनिको राजमार्ग पनि शीघ्र खुलाउन आवश्यक काम थालेको यहाँस्थित चिनियाँ दूतावासका प्रवक्ता जी गाङ्लीले राससलाई जानकारी दिनुभयो । चीनले तेस्रो चरणको मानवीय सहायताअन्तर्गत आठ करोड चिनियाँ युआनबराबरका सामग्री नेपाललाई प्रदान गर्न लागेको उहाँले बताउनुभयो । राहत सामग्रीमा पाल, त्रिपाल, स्वास्थ्य सामग्री छन् । चीनको वाणिज्य मन्त्रालयले स्थानीय मामिला, स्वास्थ्य तथा परिवार नियोजन आयोग, रेडक्रसलगायत संस्थासँग मिलेर ती राहत सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन लागेको जानकारी पनि उहाँले दिनुभयो । यसैबीच चिनियाँ रेडक्रस प्रतिष्ठानले ४० लाख युआनबराबरका पाँच हजार राहत बाकस भूकम्पपीडित नेपालीलाई प्रदान गर्ने भएको छ । उक्त राहत बाकसमा कम्बल, ओस नलाग्ने ‘म्याट’ स्लिपिङ ब्याग, वर्षादी, लत्ताकपडा र व्यक्तिगत प्रयोजनका सामग्री समावेश छन् ।