‘उपचारमा कमी हुँदैन’–स्वास्थ्यमन्त्री अधिकारी, १५ स्वास्थ्यकर्मी निलम्बित, भूकम्प प्रभावित जिल्लामा नगएको आरोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पबाट प्रभावित बिरामी तथा घाइतेको उपचारका निम्ति खटाइएका १५ जना स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा अनुपस्थित रहेको भन्दै निलम्बन गरेको छ । मन्त्रालयका प्रवक्ता डा गुणराज लोहनीका अनुसार खटिएका जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्यचौकी तथा उपस्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको हो । यसअघि उक्त मन्त्रालयले चिकित्सकसहित १४ जनालाई निलम्बन गरेको थियो । नुवाकोटको थानसिंङ औषधालयका कविराज उषा पौडेललाई पनि निलम्बन गरिएको छ । यसैबीच, भूकम्प प्रभावित जिल्लामा मेडिकल अधिकृत र मनोसामाजिक परामर्श दाता सङ्घसंस्था छनोटका लागि सात दिनभित्र आवेदन गर्न सूचना प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्यमन्त्री खगराज अधिकारीले भूकम्पबाट क्षतिग्रस्त जिल्ला अस्पतालको निरीक्षण गर्दै विपद्को परिस्थिति सहज हुनासाथ जिल्ला अस्पताल रसुवाको भवन निर्माण हुने बताउनुभएको छ । मन्त्री अधिकारीले भूकम्पपछि उत्पन्न हुन सक्ने महामारीप्रति सचेत रहँदै विश्व स्वास्थ्य संगठनसँग समन्वय गरी यथेष्ट औषधि स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराइएको र पालभित्रै भए पनि नियमित उपचार सेवा दिइने भएकाले कुनै पनि रोगको सङ्केत देखा पर्नासाथ नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क राख्न आम रसुवावासीसँग आग्रह गर्नुभयो । जनताको स्वास्थ्य समस्या बुझ्न रसुवा आउनुभएका स्वास्थ्यमन्त्रीले त्रिपालभित्रै सहज रुपले स्वास्थ्यकर्मी लगनशील भई उपचार गरेको देखेपछि यहाँ कार्यरत सबै स्वास्थ्यकर्मी र स्वास्थ्य उपचारमा सहजीकरण गर्ने स्वदेशी तथा विदेशी सङ्घसंस्थालाई धन्यवादसमेत दिनुभएको थियो । उहाँले भूकम्पबाट घाइते एक लाखभन्दा बढीको उपचार प्रदान गरिसकेको र अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिनु भयो ।स्वास्थ्य विपद् व्यवस्थापनका रसुवा– नुवाकोट समन्वयकर्ता डा रमेश खरेलले विपद्को समयमा सबै स्वास्थ्यकर्मीले आ–आफ्नो क्षेत्रमा बसी उपचार सेवा प्रदान गर्न कडा निर्देशन दिइसकेकाले उपचार सेवामा कुनै पनि कमी नआउने आश्वस्त पार्नुभयो । वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले रसुवा जिल्लाको स्वास्थ्य अवस्था र भइरहेको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।