मन्त्री बस्नेतद्वारा भूकम्पपीडितलाई साठी घर हस्तान्तरण, थप दुई हजार घर निर्माणको घोषणा

उद्योग मन्त्री महेश बस्नेतले आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकाका भूकम्पपीडित ६० परिवारलाई जस्ताबाट बनाइएका अस्थायी घर हस्तान्तरण गर्नुभएको छ । अनन्तलिङ्गेश्वरस्थित दधिकोटको गाम्चा र तर्खगालका भूकम्पपीडितलाई पहिलो चरणअन्तर्गत ६० वटा अस्थायी घर बनाएर हस्तान्तरण गरिएको हो । मन्त्री बस्नेतको पहलमा मानवीय आस्था नेपाल नामक संस्थाले भूकम्पपीडितका लागि घरटहरा निर्माण गरिदिएको हो । यही वैशाख १२ गतेको भूकम्प र २९ गतेको ठूलो पराकम्पनबाट सो क्षेत्रका सबै घर भत्किएपछि यस्ता घर निर्माण गरिएको हो । मन्त्री बस्नेतले घर हस्तान्तरण कार्यक्रममा विभिन्न निकायको सहयोगमा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिकाको ठूला गाउँ र माली गाउँमा चारसय अस्थायी घर तथा जिल्लाभर दुई हजार भूकम्पपीडित परिवारका लािग अस्थायी घर निर्माण गरेर बसोबासको व्यवस्था मिलाइने बताउनुभयो । दश हजार दुई सय रुपैयाँको लागतमा सहजै निर्माण गर्न सकिने अस्थायी घरमा छ जनाको परिवार बस्न सकिन्छ । जग्गा बाहेक बनाउन लाग्ने लागत सबै व्यहोर्न सहयोग पु¥याउने गैरआवासीय नेपाली सङ्घ लग्जेम्वर्गका अध्यक्ष रमेश त्वायनाले भूकम्पबाट पीडित भएकालाई मानवीय सेवा गर्नु परम कर्तव्य ठानेर पुनर्वासको अभियान चलाएको बताउनुभयो । स्थानीयलाई अस्थायी घरको प्रमाणपत्र एवम् अस्थायीे टहरा हस्तान्तण गर्दै मन्त्री बस्नेतले संस्थाले स्वच्छ र मानवीय भावनाले काम गरेकाले टहरा निर्माणले भूकम्पपीडितलाई ठूलो राहत मिलेको बताउनुभयो । एक महिनाभित्र भक्तपुरका भूकम्पपीडितलाई यसप्रकारका दुई हजार अस्थायी घर निर्माण गर्ने लक्ष्य संस्थाले लिएकोे जानकारी गराउनुभयो । अस्थायी घर निर्माणपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । पालसमेत नपाएर उठीबास लाग्ने अवस्थामा जस्ताकै भएपनि यसप्रकारको घर निर्माणले ठूलो राहत मिलेको भूकम्पपीडित डिल्लीराम न्यौपानेले बताउनुभयो ।