मोदी कोइरालाबीच टेलिफोनमा कुराकानी, भूकम्पमा भारतीय सहयोगको प्रशंसा

प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार अपराह्न टेलिफोन वार्ता भएको छ । वार्तामा दुई प्रधानमन्त्रीबीच नेपालमा हालैको भूकम्प, त्यसले पु¥याएको धनजनको क्षति, खोजी, उद्धार र राहत प्रयासका साथै दुई देशका बीचको आपसी सम्बन्ध बारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाले यही वैशाख १२ गतेको भूकम्पबाट नेपालको जनजीवन सामान्य अवस्थामा फर्कन लागेका बेला वैशाख २९ गतेको अर्को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले जनमानसलाई भयभीत बनाएको बताउनुभयो । उहाँले पछिल्लो भूकम्पको कम्पन दिल्लीसम्म अनुभव गरिएको र विहारमा जनधनको क्षति भएको खबरले आफू दुःखित भएको पनि बताउनुभयो । प्रधानमन्त्रीले भूकम्पपछि नेपाल सरकारको अनुरोधमा भारतबाट आएका खोजी, उद्धार र राहत टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी, निजामती कर्मचारी र स्वास्थ्यकर्मीसँग समन्वय गरी पीडितको जीवन रक्षा र राहतमा पु¥याएको सहयोगको सराहना गर्नुभयो । विपत्तिको समयमा भारतबाट प्राप्त आर्थिक र भौतिक सहयोगले अन्तर्राष्ट्रिय समुदायलाई उत्प्रेरित गरेको बताउँदै प्रधानमन्त्रीले यो नेपाल र भारतका बीचको राष्ट्रियस्तरको र जनस्तरको अनुपम सम्बन्धका कारण सम्भव भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री कोइरालाले भारतको सबै समुदायमा नेपाललाई परेको यस विपत्मा सघाउन जागृत स्वःस्र्फूत भावनालाई अनुपम बताउँदै यस विपतको समयमा सबै नेपालीको हृदय स्पर्श गरेको उल्लेख गर्नुभयो । उहाँले यसका लागि भारत सरकार र भारतीय जनतालाई हार्दिक धन्यवाद दिनुभयो । प्रधानमन्त्री कोइरालाले भूकम्पको विनास पछि अहिले पुनःस्थापना र पुनर्निर्माणको ठूलो चुनौती उपस्थित भएको बताउँदै अहिले क्षतिको मूल्याङ्कन भइरहेको प्रष्ट पार्नुभयो । साथै उहाँले यस दुःखद् घडीमा प्रधानमन्त्री मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिवमार्फत पठाउनुभएको सन्देशको सराहना गर्नुभएको थियो । प्रधानमन्त्री कोइरालाले मित्रराष्ट्र चीनसहित तीनवटा मित्रराष्ट्रको औपचारिक भ्रमणमा निस्कन लाग्नुभएका भारतीय प्रधानमन्त्री मोदीलाई सफलताको लागि शुभकामना व्यक्त गर्दै बितेको एक वर्षमा प्रधानमन्त्री मोदीले लिनुभएको, ‘पहिले छिमेक’ नीतिले उल्लेख्य परिवर्तन ल्याएको पनि बताउनुभयो । उहाँले भारत र चीनबीचको सुसम्बन्धले विश्वशान्ति, स्थायित्व, सुरक्षा र विकासमा ठूलो अर्थ राख्ने समेत बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले नेपालले ठूलो प्राकृतिक विपत्को सामना गर्नु परेको उल्लेख गर्र्दै नेपाल र नेपालीको आत्मसम्मान र सार्वभौमिकताको सम्मान गर्दै मानवीय सहयोग र विकास प्रक्रियामा सघाउन भारत सदा तत्पर रहेको बताउनुभएको थियो ।