प्रधानमन्त्री नै भूकम्प पीडित, मन्त्रिपरिषद्को कार्यालय सार्ने गृहकार्य

भूकम्पका कारण क्षति पुगेको सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको कार्यालय सार्न गृहकार्य भइरहेको छ । सिंहदरवारभित्रकै कुनै भवनमा कार्यालय सार्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो ।“सिंहदरवारभित्रकै भवनमध्ये कुन भवन उपयुक्त हुन्छ भन्ने बारेमा छलफल भइरहेको छ, हाल पुर्ववतः कार्यालयको केही कोठा र परिषरबाट कार्यसञ्चालन भइरहेको छ ।” उहाँले भन्नुभयो । खतराको सूचीमा रहेका ती दुई कार्यालय सार्न आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र सम्बन्धित निकायका अधिकारीबीच आज परामर्श भएको थियो । अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेको भवन सबैभन्दा उपयुक्त हुने सुझाव आएको बुझिएपनि ठोस निर्णय भइसकेको छैन । त्यसबाहेक नयाँ बानेश्वरमा रहेको संविधानसभा भवनसँगैको लगानी बोर्डको कार्यालय भवन, बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासलगायत विभिन्न भवनका बारेमा पनि सुझाव आएको छ । साथै खतरापूर्ण भवनमा रहेका सिंहदरवारभित्रका अन्य कार्यालय पनि सुरक्षित भवनमा सार्ने तयारी भइरहेको छ । सिंहदरवारस्थित रक्षा मन्त्रालय यसअघि नै राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय पुतली बगैँचा
सिंहदरवारमा रहेको भवनमा सरिसकेको छ । मन्त्रालयका सचिव इश्वरीप्रसाद पौडेलका अनुसार पूर्ववत कार्यालय क्षतिग्रस्त भएकाले नयाँ कार्यालय परिषरबाट सञ्चालन भइरहेको हो ।
परराष्ट्र मन्त्रालय त्रिपालबाट कार्यसञ्चालन गर्दै
सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पनि क्षति पुगेकाले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले मन्त्रालयका प्राङ्गणमा रहेको त्रिपालबाट अस्थायी कार्यालय सञ्चालन गर्नुभएको छ । मन्त्री पाण्डेले आफ्नो कार्यकक्ष बस्न अयोग्य नभएपनि हालका लागि प्राकृतिक वातावरणसहित परिषरमा रहेर काम गरेको बताउनुभयो ।