विपद्को सामना गर्न सर्वसाधारणसँग प्रधानमन्त्रीको आग्रह, उद्धार टोली परिचालन

प्रधानमन्त्री सुशील कोइरालाले विपद्को यस घडीलाई धैर्य नटुटाई सामना गर्न सर्वसाधारण सबैसँग आग्रह गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै उहाँले भूकम्पपछि थप विपद्मा परेका जनताको उद्धार तथा राहतमा सरकार लागिरहेको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो – पछिल्लो भूकम्पबाट दोलखा र सिन्धुपाल्चोकमा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । त्यसको आधारमा आवश्यक औषधिसहितका चिकित्सकहरु र खोजी तथा उद्धार टोलीहरु हेलिकप्टरबाट त्यसतर्फ गइसकेका छन् । काठमाडौँ उपत्यकाका नयाँबजार, बालाजु, महाराजगन्ज, भक्तपुर, ललितपुर तथा मातातीर्थबाट बढी क्षति तथा घाइते भएका जानकारी आएको छ । काठमाडौँ उपत्यका र आसपासका सबै जिल्लामा स्थलमार्गबाट उद्धार टोलीहरु परिचालन भइरहेको छ । अहिलेसम्म प्राप्त प्रारम्भिक जानकारीअनुसार आजको भूकम्पमा परी १६ जनाको मृत्यु भएको र ८४६ जना घाइते भएको जानकारी पनि प्रधानमन्त्री कोइरालाले दिनुभयो । उहाँले भन्नुभयो – “सरकारले सबै साधन स्रोत र शक्ति प्रयोग गरेर खोजी, उद्धार तथा राहतका कार्यलाई तीव्रता दिनेछ । आज आएको भूकम्प यस पूर्व आएको भूकम्पको पराकम्पन भएकाले विस्तारै हामी यो प्राकृतिक विपत्तिबाट मुक्ति पाउनेछौँ । तसर्थ बाटो अवरुद्ध नगर्न, हल्लाको पछाडि नलाग्न, घाइते र बिरामीलाई अस्पतालमा पु¥याउने एवम् खोजी तथा उद्धारमा खटिएका सुरक्षा टोलीलाई सघाउन सबैमा हार्दिक अनुरोध गर्दछु ।” उहाँले यस विपद्को घडीमा अनात्तिइकन सुरक्षित रुपमा बस्न पनि सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइसँग आह्वान गर्नुभयो । उहाँले उद्धारमा जुटिरहेका सबै सुरक्षाकर्मीहरुलाई सहयोग पु¥याउन पनि आग्रह गर्नुुभयो । यसैगरी, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सङ्कटको यस घडीमा संयम अपनाउन आह्वान गर्नुभयो । उहाँले भूकम्पका खोज, उद्धार तथा राहतका लागि सरकारले उच्च प्राथमिकताका साथ जुटिरहेको पनि जानकारी दिनुभयो । भूकम्प प्रतिरोधका संरचना नभत्किएको हुँदा चर्किएको घरमा नबस्न र सचेत भई बस्न पनि उहाँले सबैसँग आग्रह गर्नुभयो । सरकार ठूलो योजनाका साथ भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माण जुटिरहेको जानकारी पनि उहाँले दिनुभयो ।