प्रधानमन्त्री कोषमा एसियाली विकास बैंकबाट ३० लाख डलर

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एसियाली विकास बैंक, सूर्य नेपाल, एभरेस्ट बैंक र सिल्भर हेरिटेजले सहयोग रकम प्रदान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा सम्बन्धित संस्थाका प्रतिनिधिले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । एसियाली विकास बैकका देशीय निर्देशक केनिची योकोयामाले बैंकका तर्फबाट दिइएको ३० लाख डलर सहयोग प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा आएको विनाशकारी भूकम्पबाट पीडित भएका नेपालीलाई सहयोग गरेकामा बैंकलाई धन्यवाद दिनुभएको थियो । सो अवसरमा बंैकको नेपालका लागि आवासीय राष्ट्रिय प्रतिनिधि योकोयामाले बैंकका अध्यक्ष ताकेहिको नाकाओले नेपालमा आएको भूकम्पमा परी मृत्युवरण गरेका नेपाली र भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीप्रति सहानुभूति र स्वजन गुमाएका परिवारप्रति समवेदना प्रकट गरेको समवेदना सन्देश पनि हस्तान्तरण गर्नुभएको थियो । सो सन्देशमा भूकम्पको क्षतिको विवरण लिएपछिका राहत, पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्ने विश्वास दिलाउनुभएको छ ।
सूर्य नेपालको रु १० करोड
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सूर्य नेपालका तर्फबाट रु १० करोड प्रदान गरिएको छ । कम्पनीका कार्यकारी अधिकृत रवि केसीले रु सोबराबरको चेक प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
एभरेस्टले दियो रु ५० लाख
एभरेस्ट बैंकले पराहत कोषमा रु ५० लाख प्रदान गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलगायतले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको छ । आजै कोषमा सिल्भर हेरिटेज प्रालिले प्रधानमन्त्री राहत कोषमा रु २२ लाख प्रदान गरेको छ । कम्पनीका ह्युह होल्मले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।