यस्तो मनोवैज्ञानिक त्रासमा बाँचिरहेका छन् नेपाली

दुई साताअघि आएको विनाशकारी भूकम्पबाट त्रासमा रहेका नेपाली जनता राति उड्ने हवाइजहाजबाटसमेत त्रसित हुन थालेका छन् । यही वैशाख १२ गते आएको विनाशकारी भूकम्पले पारेको प्रभावित क्षेत्रमा खाद्यान्न र लत्ताकपडा लिएर नेपाल आएका ठुल्ठुला हवाइजहाजले निकालेको आवाजले काठमाडौँ उपत्यकाका जनता त्रसित बनेका हुन् । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–१७ का जय केसी हवाइजहाज आएपछि कान थुनेर बस्नुपर्ने अवस्था आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेशबाट आएका ठूला विमानले रातभर भूकम्प आएको महसुस हुन्छ, भूकम्प आएको केही दिनमा त फेरि भूकम्प आयो भन्दै हवाइजहाज आएको बेला केटाकेटी लिएर बाहिर निस्कँे, आखिर भूकम्प रहेनछ, रातभर घरमा गएर बसेँ, निद्रै लागेन”, केसीले भन्नुभयो, “म मात्र केटाकेटी लिएर बाहिर निस्केको होइन, महालक्ष्मी नगरपालिका–१६ र १७ दुवै वडाका मानिसको सबै भागाभाग भयो ।” यस्तै ललितपुर गोदावरीकी मैना थापाको पीडा पनि उस्तै छ । अधिकांश विदेशबाट आउने हवाइजहाज ललितपुरको आकाश हुँदै काठमाडौँ आउनाले आवाजले निद्रा नै लाग्दैन । उहाँ भन्नुहुन्छ, “हवाइजहाज आउँदा कानमा रुवा हालेर बस्नुपर्छ, अन्यथा दुवै हातले कान थुन्नुपर्छ ।” यसैगरी कैलाली धनगढी घर हाल काठमाडौँ सामाखुसी बस्ने पदम ऐरलाई पनि बारम्बार हवाइजहाजले तर्साउने गरेको छ । उहाँ भन्नुहुन्छ, “खाना खाँदैै थियौँ, भूकम्प आयो भनेर टाउको घोप्टो पारेर बसेको, टाउको खान लागेको भातको थालमा घोप्ट्यो, बाहिर हेर्दा भूकम्प नभएर आखिर हवाइजहाज रहेछ ।” लमजुङ घर भई हाल काठमाडौँ रानीबारी बस्ने उषा न्यौपाने ठूला विमानले सुतेको बेला कोठाको झ्याल थरथर हल्लिने र भूकम्प आएको जस्तो भई डर मात्र लाग्ने बताउनुहुन्छ । यसरी त्रसित जनताको चर्को आवाज आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयान प्राधिकरणका निमित्त महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ भने भूकम्पबाट प्रभावित जनताका लागि खाद्यान्न र लत्ताकपडा तथा उद्धारका लागि हेलिकप्टर ल्याउन ठूला विमानको प्रयोग गर्नुपरेको बताउनुभयो । उहाँले भूकम्पपछि अन्य समयमा उड्ने हवाइजहाजभन्दा सामान ओसारपोसार तथा यात्रु ओसारपसारका लागि दुई विमानको ठाउँमा एउटै ठूलो विमानको प्रयोग गर्ने गरिएकाले ठूलो आवाज आउने गरेको बताउनुभयो । उहाँले यस्ता ठूलो विमान आएर बस्नका लागि एक हजार ५०० मिदेखि दुई हजार मिसम्म साँघुरो ठाउँमा बस्ने हुनाले ठूलो आवाज आउने गरेकोे र यस्तो भूकम्पको पीडामा परेका जनता डराउने गरेको बताउनुभयो ।