निरीक्षण गर्न भक्तपुर पुगेका राष्ट्रपतिसँग क्षतिपूर्ति र उचित राहतको माग

राष्ट्रपति डा रामवरण यादवले आज भूकम्पबाट प्रभावित भक्तपुरको अवलोकन गर्नुभएको छ । उहाँले यही वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेर क्षति भएको भक्तपुर नगरपालिकाका विभिन्न टोल र भक्तपुर दरबार परिसर, सुकुलढोका, गोल्मढी, सूर्यमढी, जेँला, इनाचो र विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा पुगेर भूकम्पले पु¥याएको क्षतिबारे जानकारी लिनुभएको थियो । भक्तपुरको दरबारस्क्वायरमा पुग्नुभएका राष्ट्रपति डा यादवलाई नेमकिपाका अध्यक्ष एवं सभासद् नारायणमान बिजुक्छेले स्वागत गर्नुभएको थियो । उहाँलाई बिजुक्छे,सभासद् प्रेम सुवाललगायतले भक्तपुरमा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो । गोल्मढी टोलका सर्वसाधारणसँग केहीबेर कुरा गर्नुभएका राष्ट्रपतिलाई स्थानीय भूकम्पपीडितले उचित राहत र बासस्थानको यथाशीघ्र पहल गर्न आग्रह गरे । उनीहरूले वर्षात् सुरु हुन लागेकाले समयमा नै उचित बासस्थान नभएमा आफूहरूको पीडा झन् धेरै हुने तथा बालबच्चा, वृद्धवृद्धाको स्वास्थ्यमा समस्या आउने गुनासो गरे । भक्तपुर दरबार क्षेत्रबाट पैदल नै उहाँले यहाँका विभिन्न क्षतिग्रस्त संरचनाको अवलोकन गर्नुभएको थियो । भूकम्पमा परी भक्तपुरमा हालसम्म ३१९ जनाको मृत्यु भएको तथा चार हजार ५०० घाइते भएका छन् ।