नेपाललाई राज्यविहीनताको अवस्थामा जान दिन्न : प्रधानमन्त्री कोइराला

प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई राज्यविहीनताको अवस्थामा जान नदिने प्रतिबद्धता जनाउनुभएको छ । बालुवाटारमा तनहुँ–काठमाडौँ लोकतान्त्रिक बुद्धिजीवी समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले सो प्रतिबद्धता जनाउनुभएको हो । “वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट आहत भएका जनतालाई सरकारविरुद्ध उचालेर नेपाललाई राज्यविहीनताको अवस्थामा पु¥याउन खोजिएको छ, मलाई केही लिनु छैन त्यसैले म पीडितलाई राहत दिने काममा दृढताका साथ लाग्दछु, गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कृत गर्न कुनै कञ्जुस्याईं बाँकी राख्दिन” उहाँले भन्नुभयो । सुरुका दिन सबै पीडामा भएकाले सरकारका काममा केही कमजोरी देखिए पनि पछि त्यसलाई सम्हालेर नियन्त्रणमा लिइएको प्रधानमन्त्री कोइरालाले बताउनुभएको थियो । विपत्को घडीमा अनावश्यक हल्लाभन्दा पनि सहीरूपमा पीडितको सेवामा जुट्न उहाँले समाजको प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो । समाजका संयोजक यदुनाथ खनालले तनहुँमा भूकम्पले चार हजार ९२७ घर पूर्ण रूपामा क्षति भएका, १५ हजार ९१८ घरमा बस्न नहुने गरी भत्किएका, १०० वटा विद्यालय र मठमन्दिर पूर्णरूपमा क्षति भएका, १३ वटा स्वास्थ्यचौकी र तीनवटा गाविस भवन पनि पूर्णरूपमा क्षति भएकाले जिल्लालाई अति प्रभावितको सूचीमा समावेश गरिनुपर्ने माग गर्नुभयो ।