संविधान निर्माण र पुनःनिर्माणमा सबै दललाई एकताबद्ध हुन नेता नेपालको आह्वान


madhav jhalnathनेकपा (एमाले)का नेता माधवकुमार नेपालले भूकम्पका हिसाबले नेपाल उच्च जोखिमको मुलुक भए पनि त्यसलाई सामना गर्ने आवश्यक रणनीति र संयन्त्र बनाउन नसक्दाको परिणति ठूलो जनधनको क्षति भोग्नुपरेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को विशेष समयमा भाग लिँदै उहाँले भन्नुभयो–“यद्यपि यस पटकको भूकम्पले राजनीतिक दल र सर्वसाधारण जनतालाई एकताको पाठ सिकाएको छ, त्यो अत्यन्तै प्रशंसनीय छ । ” राज्यका संयन्त्रले समन्वय गरेर अघि बढ्ने मामिलामा कमजोरी देखिएकाले राहत वितरणमा एकरूपता नदेखिएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले जनताको आवश्यकता र मागलाई सम्बोधन गर्ने हिसाबले राहत र पुनःस्थापनाका काम अघि बढाउनुपर्ने औँल्याउनुभयो । दीर्घकालीन सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले संविधान निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल र द्रुत राजमार्ग निर्माण तथा भूकम्पपछि पुनःनिर्माण गर्दा व्यवस्थित रूपमा बस्ती बसाल्ने काममा सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

आवश्यक परे राष्ट्रिय सरकार

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले विपत्तिको सामना गर्ने आवश्यक तयारी हुन नसक्दा मुलुकले ठूलो विपत्तिको मार खेप्नुपरेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को बैठकमा भाग लिँदै उहाँले मुलुकको भौगोलिक अवस्था र यातायातको कठिनाइका कारण तत्काल उद्धार र राहतका काम सोचेअनुरूप अघि बढ्न नसकेको विचार व्यक्त गर्नुभयो । राहत तथा पुनःस्थापनको कामलाई अघि बढाउँदा मुलुकको भौगोलिक विशेषता र आवश्यकतालाई ध्यान दिएर भूकम्पपीडितको राहतका लागि सबै राजनीतिक दल र सबै पक्ष एकजुट र एकताबद्ध भएर अघि बढ्न नेता खनालले आह्वान गर्नुभयो । विपत्तिको सामना गर्ने क्रममा राष्ट्रिय सरकारको गठनलाई पनि ध्यान पु¥याउन आवश्यक रहेको बताउँदै वरिष्ठ नेता खनालले वर्षायाम नजिकै आइसकेकाले पुनःस्थापना र पुनःनिर्माणको कामलाई तुरुन्तै तीव्र रूपमा सुरु गर्नुपर्छ भन्नुभयो । पूर्वप्रधानमन्त्री उहाँले भन्नुभयो, “मुलुकमा ठूलो भूकम्पको विध्वंस भयो, यो नयाँ नेपाल निर्माण गर्नका लागि अवसर पनि हो, पुनःनिर्माण गरेर राष्ट्रको स्वाभिमान र अखण्डतालाई जोगाउने विषयमा सबै एकताबद्ध हुनुपर्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]