शेर्पाले देखेको भूकम्पको त्यो कालो दिन


everestदोलखा गौरीशङ्खर–१ रोल्वालिङका पासाङ तेन्जिङ शेर्पालाई आजकल मोटरसाइकलको आवाज सुन्नासाथ विनाशकारी भुइँचालो आएजस्तै अनुभूति हुन्छ । झन्डै १२ वर्षदेखि पर्वतीय पथप्रदर्शकको काम गर्दै आउनुभएका आरोही शेर्पाको मानसपटलबाट गत वैशाख १२ गते गएको भूकम्पको त्रासदी अझै हटेको छैन । नौ पटक सगरमाथा आरोहण गरिसकेका शेर्पालाई सगरमाथाको चुचुरामा पुगेकोभन्दा भूकम्प गएको रात बढी सकसपूर्ण लाग्यो । “यत्रो वर्ष सगरमाथा चढियो, माथि चुचुरोमा पुग्दा पनि डर भएन तर आधार शिविरको त्यो रात असाध्यै सकसपूर्ण रह्यो, त्यहाँको अवस्थाले असाध्यै डराएँ, मुटु र मस्तिष्कले काम गर्न छाडिसकेको थियो”, शेर्पाले भन्नुभयो । सन् २००३ देखि सगरमाथा(आठ हजार आठ सय ४८मि) आरोहण सुरु गर्नुभएका शेर्पाले त्यसको केही वर्षदेखि नै माउन्टेन गाइडको काम सुरु गर्नुभयो । अहिले उहाँ अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शकका रूपमा चर्चित हुनुहुन्छ । उहाँका अनुसार यस्ता पथप्रदर्शक नेपालमा ३३ जना मात्र छन् । भूकम्पको सकसपूर्ण नौ रात बिताउनुभएका शेर्पाको अनुभव अविष्मरणीय छ । आठ विदेशी पर्यटक लिएर सगरमाथाको चुचुरो चुम्न लाग्नुभएका शेर्पाको सपना विनाशकारी भूकम्पले अधुरै बनायोे । आधार शिविरमा आँखै अगाडि १७ लास र कैयौँ घाइतेका चिच्चाहट र कोलाहलले अझै उहाँको मस्तिष्कलाई झक्झकाउन छाडेको छैन । “भूकम्प रोकिएपछि ठूलो आवाज आयो, क्याम्प बाहिर निस्केर हेर्दा बीच भागका अधिकांश क्याम्प उजाड देखिए, पाल उडाएर सयौँ मिटर पर लगेको मानिसको चिच्चाहट मात्र गुन्जियो, माथितिर (पुमरी) बाट आएको हिउँका ढिस्का सेकेन्डमै अगाडि आइपुग्यो, भाग्यवश मेरो क्याम्पलाई केही भएन, केही क्षणपछि फर्केर हेर्दा क्याम्पको अवस्था हृदयविदारक थियो”, शेर्पाले अनुभव सुनाउनुभयो । आधार शिविरमा २०० र त्यहाँभन्दा माथिको शिविर एक र दुईमा २१० पर्यटक थिए । शेर्पाले १४ वर्षका अवधिमा व्यक्तिगत र समूहगत गरी हालसम्म १०० भन्दा बढी विदेशी पर्यटकलाई सगरमाथाको चुचुरामा पु¥याउनुभएको छ ।
यसरी बिते भूकम्पपछिका नौ रात
हिमपहिरामा परी १८ जनाको निधन भयो, दर्जनौँ घाइते भए, आँखै अगाडिको त्यो कहालीलाग्दो दृष्यलाई शेर्पाले नकार्न सक्नुभएन र हिम्मतका साथ उद्धारमा खटिनुभयो । भूकम्पपछिको हिमपहिराले शिविर तहसनहस बनायो । भत्केका शिविरबाट अक्सिजन, रेगुलेटर, मास्कलगायत सामग्री चाहियो भनेर फोन आयो । बचेका शिविरमा घाइतेलाई लगियो, औषधोपचार थिएन, स्वास्थ्य शिविर पनि ध्वस्त भएको थियो । आधार शिविरमा ४५ शिविर थिए, तीमध्ये नौ पूर्ण क्षति र १० समस्याग्रस्त थिए । शेर्पा तीन दिनसम्म दिनरात नभनी पर्यटकको उद्धारमा खट्नुभयो । त्यो कहालीलाग्दो क्षणपछि शेर्पालाई मानिसको जीवन केही छैन रहेछ, मृत्यु जतिखेर पनि आउनेरहेछ भन्ने लाग्यो । आधारशिविरको सकस र दर्दनाक अवस्थाले उहाँलाई असाध्यै पीडाबोध भयो, विकल्प थिएन । बसेका शिविर उडाएर सामान हराएपछि ओढ्ने र लगाउने लुगा थिएन, बचेका शिविरमा साथीसँग मागेर त्यो रात घाइते तथा बिचल्लीमा परेका पर्यटकलाई राखियो । “आकाशबाट हिउँ बर्सिरहेको थियो । रातभर कुरेर बस्यौँ, मौसम खराबले गर्दा भोलिपल्ट पनि अबेला मात्र हेलिकप्टर आयो उद्धारका लागि तर क्याम्प एक र दुईमा विदेशी तथा नेपाली पर्यटक कसरी उद्धार गर्ने ? आइसफलको बाटो पूरै ड्यामेज थियो ।”शेर्पाको अनुभव छ । उहाँको जस्तै अनुभव रहयो अर्का अन्तर्राष्ट्रिय मान्यताप्राप्त पर्वतीय पथप्रदर्शक ओखलढुङ्गा–गिजीफलाटे–२ का लाक्पा शेर्पाको । नेपाल पर्वतारोहण सङ्घका सदस्य लाक्पा पाँच पटक सगरमाथाको चुचुरामा पुग्नुभयो तर भूकम्प गएको रात सगरमाथाको चुचुरोभन्दा कठिन लाग्यो । “सगरमाथाको टुप्पामा पुग्दा डरसँगै खुसीको अनुभूति हुन्थ्यो तर आधार शिविरको त्यो रात डरले आत्तिने मात्र भयो, मस्तिष्कले कामै गर्न छाडिसकेको थियो”, उहाँले भन्नुभयो । त्यसो त लाक्पाले सगरमाथासहित मनास्लु, धौलागिरि, मकालुलगायत करिब दर्जन हिमाल आरोहण गरिसक्नुभएको रहेछ । “भूकम्प जानेबित्तिकै दायाँबायाँबाट हिमपहिरो खस्यो, मसहित पाँच जनाको टोली भाग्यौँ सुरक्षितस्थलतर्फ, तर हिउँको ढिस्काले ठोक्किएर सामान्य घाइते भइयो, बीचभागका सबै क्याम्प ध्वस्त थिए, धेरै आरोहीको लास छरिएको थियो, कोही गुहार मागिरहेका थिए, कहालीलाग्दो क्षण थियो ।” पहिराले घाइते भएकाले दुई घन्टा तल हिँडेर घोरक्से भन्ने ठाउँमा आएर सुरक्षित तवरले बसेको लाक्पाले अनुभव सुनाउनुभयो । यही वैशाख १२ गते गएको ७.६ रिक्टर स्केलको ‘गोरखा भूकम्प’पछि सगरमाथाको आधारशिविरमा हिमपहिरो जाँदा १८ स्वदेशी तथा विदेशी पर्यटकको मृत्यु भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार देशभरका हिमाल आरोहणका लागि १०२ टोलीले आरोहण अनुमति लिएका थिए । तीमध्ये सगरमाथामा मात्र ४२ टोली गएका थिए । त्यसमा विदेशी आरोहीमात्रै ५१० थिए । पर्यटक समन्वय केन्द्रका अनुसार भूकम्पमा परी विभिन्न पर्यटकीय क्षेत्रमा हालसम्म ६७ विदेशी पर्यटकको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]