भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा विभिन्न ठाउँमा दीप प्रज्वलन


????????????????????????????????????????भूकम्पमा परी दिवङ्गत हुनुभएका सम्पूर्णप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै काठमाडौँको माइतीघर मण्डला लगायतका विभिन्न ठाउँमा सामूहिक दीप प्रज्वलन गरिएको छ । बिपी मेमोरियल स्टुडेन्ट्स फाउन्डेसन, स्कुल अफ डेमोक्रेसी, विमिन एक्ट, उपत्यकाका तराई मधेसका विभिन्न सङ्घसंस्था तथा बौद्ध समूहका सयौँको सहभागितामा आज साँझ मण्डलामा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा मधेस नागरिक समाज, मधेसी पत्रकार समाज, मधेसी महिला समाज, मधेसी मिडिया हाउसलगायत ५९ वटा मधेसका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेता, विद्यार्थी, सञ्चारकर्मी, शिक्षासेवी, व्यवसायी तथा अन्य सर्वसाधारणको बाक्लो उपस्थिति थियो । सो अवसरमा सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशीप्रति श्रद्धाञ्जलि व्यक्ति गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासमेत गर्नुभयो । उहाँले मुलुकमा अहिलेको जस्तो विपद् कहिले पनि नआओस् भन्ने कामना गरिएको जानकारी दिनुभयो । दीप प्रज्वलन कार्यक्रमसँगै बौद्धमार्गीले मन्त्रोच्चारण गरी पूजापाठसमेत गरेका थिए । यसैगरी, कलाकारले भूकम्पमा परी ज्यान गुमाउने थाङ्का कलाकार लालमाया मोक्तान र मूर्तिकार सुरेश प्रधानलगायत सम्पूर्ण नेपालीको सम्झनामा नेपाल कला परिषद बबरमहलमा दीप प्रज्वलन गरेको छ । कार्यक्रममा कलाकार रमेश खनालले विनाशकारी भूकम्पको विपद्मा नेपाली ललितकलाकर्मीको हातेमालो अभियान–२०७२ अन्तर्गत नेपालभित्र र बाहिर भएका कलाकारको सहयोगमा रु दुई लाख रकम सङ्कलन गरेको जानकारी दिनुभयो । उक्त रकममध्ये रु ४८ हजार मृतक कलाकारका परिवार र घरवारविहीन भएका कलाकारलाई प्रदान गरिएको र बाँकी रकम अन्य पीडित परिवारलाई हस्तान्तरण गर्ने खनालले जानकारी दिनुभयो । यसैबीच, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा चलचित्रकर्मी तथा साहित्यकार सङ्घले नारायणचौर नक्सालमा पनि दीप प्रज्वलन गरेको छ । साथै, युवा सङ्घ नेपालले पनि सो भूकम्पमा परी दिवङ्गत भएकाको १३ दिनको तिथि पारी आज मैनबत्ती बालेको छ । काठमाडौँको सुन्धारामा साँझ गरिएको उक्त कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य बेदुराम भुसालले भूकम्पमा परी मृत्यु भएका सबै नेपालीप्रति समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्तिको कामना गर्नुभयो । उहाँले भूकम्पले ठूलो धनजनको क्षति भएको अहिलेको दुःखदायी अवस्थामा सम्पूर्ण नेपाली एकताबद्ध हुनुपर्ने खाँचो रहेको पनि औँल्याउनुभयो । युवा सङ्घका उपाध्यक्ष दिलु पन्तले सो दुर्घटनामा परी आफन्त गुमाएकाको पीडालाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै घाइतेको उपचारमा सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गर्नुपर्ने बताउनुभयो । सो भूकम्पमा परी करिब आठ हजारको मृत्यु भएको छ भने केही हराएका र घाइते भएका छन् । यसैबीच, मानवअधिकार तथा शान्ति समाज नेपालले भूकम्पका कारण ज्यान गुमाउन पुगेका मृत्यु भएकाको आत्माको चिरशान्तिको कामना गर्दैै आज काठमाडौँको बौद्धनाथ चैत्य परिसरमा दीप प्रज्वलन गरेको छ । सो समाजले ज्यान गुमाएकाको सम्झनामा देशभर दीप प्रज्वलन गरेको हो । समाजका अध्यक्ष गङ्गाधर अधिकारीले प्राकृतिक विपद्मा परी निधन भएकाको स्मरण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा पीडित परिवारलाई अविलम्ब रहत र व्यवस्थापनको माग गर्नुभयो । समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले भूकम्पले ल्याएको कहाली लाग्दो अवस्थालाई नेपालीले बिर्सन नसक्ने उल्लेख गर्दै सरकार तथा विभिन्न सङ्घ संस्थाले विपद् व्यवस्थापनमा गरेको मानवीय सहयोग महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।
रत्ननगर (चितवन) – महाभूकम्प गएको आज १३औँ दिनको सन्दर्भमा मृतकको सम्झनामा मानवअधिकार तथा शान्ति समाज चितवन र एम्नेस्टी इन्टरनेसनल नेपाल नारायणी समूह–३३ ले यहाँ संयुक्तरुपमा दीप प्रज्वलन गरेका छन् । चितवनको भरतपुरस्थित चौबीस कोठीमा आज साँझ ६ बजे दीप प्रज्वलन गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरिएको हो । शान्ति समाजका केन्द्रीय सदस्य राजेन्द्र पौडेल र एम्नेस्टी इन्टरनेसनलका केन्द्रीय सदस्य अर्जुन अधिकारीले संयुक्तरुपमा दीप बालेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । सो क्रममा बोल्दै शान्ति समाज चितवनका अध्यक्ष बाबुहरि आचार्यले विनाशकारी भूकम्पले नेपाललाई नै शोकमा पारेको भन्दै यो क्षणमा उद्धार तथा राहतका कार्यक्रमलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले शान्तिसमाजको तर्फबाट प्रधानमन्त्री राहतकोषमा रु दुई लाखभन्दा बढी सहयोग गरेको जानकारी पनि दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]