राहत र पुनः निर्माणको योजनासहित सङ्कल्प प्रस्ताव ल्याइने, राहत वितरण प्रभावकारी नभएको शीर्ष नेताको भनाइ


???????????????????प्रमुख राजनीतिक दलका नेताहरुले यही वैशाख १२ गते गएको भूकम्पमा परी जनधनको क्षति भएका परिवारलाई तत्काल राहत तथा बासस्थानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले भूकम्प प्रभावित क्षेत्रमा जनताले अझै पनि बस्नका लागि त्रिपाल, पाल, खाद्यान्नलगायतका सामग्री पर्याप्त नपाएको भन्दै गुनासो गरिरहेको भन्दै सरकारले ती स्थानमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको हो । व्यवस्थापिका–संसद्को बैठकपछि बाहिरिने क्रममा संविधानसभा भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँहरुले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा पुनः निर्माणको योजना बनाउन र त्यसको व्यवहारिक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले जनताले त्रिपाल, खाद्यान्नलगायतका अत्यावश्यकीय सामग्री नपाएको गुनासो गरेकाले सरकारले जनताको समस्या सम्बोधन गर्नुपर्ने बताउनुभयो । आजदेखि सुरु भएको व्यवस्थापिका–संसद्को बैठकमा राहत, पुनः निर्माणलगायतका विषयमा विशेष सङ्कल्प प्रस्ताव प्रस्तुत हुने जानकारी दिँदै उहाँले विपत्तिको समयमा सबै राजनीतिक दल मिलेर जानुपर्ने धारणा राख्नुभयो । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले दूरदराजका जनताले राहत नपाएको र राहत वितरण पारदर्शी नभएको गुनासो आएकाले तत्काल समस्याको समाधान गर्न सरकारले पहल लिनुपर्ने सुझाव दिनुभयो । उहाँले सबै राजनीतिक दलको सुझावको आधारमा प्रस्तुत हुने सङ्कल्प प्रस्तावले भूकम्पबाट क्षति भएको क्षेत्रको पुनःनिर्माण प्रक्रियालाई अगाडि बढाउने र नयाँ तथा एकीकृत बस्ती निर्माणको लागि यो समय महत्वपूर्ण भएको बताउनुभयो । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले सरकारले राहत वितरण पारदर्शी नभएको गुनासो सर्वत्रबाट आएको, वास्तविक पीडितले राहत नपाएको तथा भेदभाव गरिएकाले तत्काल सच्याउन आग्रह गर्नुभयो । उहाँले भूकम्पबाट क्षति भएका घर, बस्ती तथा राष्ट्रिय सम्पदाको पुनःनिर्माणका लागि उच्चस्तरीय पुनःनिर्माण प्राधिकरण गठन गर्न र बजेट, योजना र क्रियाशीलताको आवश्यकता रहेकोमा जोड दिनुभयो । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा व्यवस्थापिका–संसद्मा सहभागी दलहरुको सहमतिमा सङ्कल्प प्रस्ताव ल्याउने तयारी गरिएको छ । बैठकमा सो प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको भए पनि भूकम्पका कारण जनधनको क्षति भएको र पूर्व सभासद् चक्रबहादुर ठकुरीको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने भएकाले मानवीय तथा नैतिक हिसाबले पनि सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नु उपयुक्त नहुने भएपछि शुक्रबारका लागि सारिएको बताइएको छ । पुनःनिर्माणको ठोस प्रस्तावसहित सो प्रस्ताव ल्याउन लागिएको प्रमुख दलका शीर्ष नेताहरुले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]