कुमारी यथास्थानमा पुनःस्थापना

बसन्तपुरको जीवित देवी कुमारी यथास्थानमा पुनःस्थापना गरिएको छ । कुमारी घरको दुई तलामा बस्दै आउनुभएकी कुमारीलाई यही वैशाख १२ गते गएको भूकम्पका कारण सोही घरको आगन नजिकै स्थानान्तरण गरिएको थियो । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष एवम् कुमारीको रेखदेख गर्दै आउनुभएका गौतमरत्न शाक्यले मुलुकमा आएको सङ्कटका कारणले केही दिन कुमारीको बसाइँ सार्नु परेको र अहिले समय अनकुल भएकाले यथास्थानमा लगिएको जानकारी दिनुभयो । उहाँले उपयुक्त तिथिमा शुभ साइत हेरी क्षमा पूजा गरिने बताउनुभयो । यसैबीच कुमारी बैंकले कुमारी घरको मर्मत सम्भारका लागि रु पाँच लाख सहयोग उपलब्ध गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले कुमारी भक्तजन सेवा समितिका अध्यक्ष दुर्गा शाक्यलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । समितिका अध्यक्ष शाक्यका अनुसार सो बैंकले इन्द्रजात्राको समयमा समेत केही आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । सर्वसाधारण भक्तजनलाई कुमारीको दर्शन भने अझै खुला गरिएको छैन ।