माधव नेपाल र देउवाले भूकम्प पीडितलाई बाँडे राहत

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता माधवकुमार नेपालले भूकम्पबाट प्रभावित काठमाडौँ निर्वाचन क्षेत्र नं २ का नाङ्ग्लेभारे, इन्द्रायणी, साँखुको सुनटोल, पटाप तथा सिन्धुपाल्चोकको भोटेचौरका जनतालाई आज राहत वितरण गर्नुभएको छ । मदन–आश्रित स्मृति प्रतिष्ठानको सहयोगमा उपलब्ध गराइएको राहतमा ५१ क्विन्टल चामल, १६२ थान पाल, २०० कार्टुन चाउचाउ तथा बिस्कुटलगायत सामग्री छन् । वैशाख १२ गते गएको भूकम्पका कारण ती क्षेत्रका अधिकांश घरमा क्षति पुगेकाले त्यहाँ बस्न मिल्ने अवस्था छैन । स्थानीयबासीले घर मर्मत गरी बस्न नमिल्ने हुँदा सरकारले पैसा तथा राहतभन्दा पनि दीर्घकालीन रुपमा पुनःवासको व्यवस्था मिलाइदिन नेता नेपाललाई आग्रह गरेका थिए । नेता नेपालले मुलुकलाई राष्ट्रिय विपत् परेको बेलामा सबै एकजुट भई समाधान खोज्नुपर्नेमा जोड दिँदै आफूले सरकारी तथा गैरसरकारी सङ्घ संस्थामार्फत भूकम्पपीडित परिवारलाई आवश्यक सहयोग गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । यसैबीच, पूर्व प्रधानमन्त्री एव्म नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भक्तपुरमा खाद्यान्न राहत सामाग्री वितरण गर्नुभएको छ । उहाँले भक्तपुरको महाँमञ्जुश्री नगरपालिकामा २५० क्विन्टल खाद्य सामग्री भूकम्पपीडित परिवारलाई ३० किलोग्रामका दरले चामल, दाल, नुनलगायत खाद्यान्न वितरण गर्नुभएको थियो । काँग्रेसद्वारा भूकम्पपीडितका लागि गठित अनुगमन समितिका संयोजकसमेत रहनुभएका नेता देउवाले यसरी नै भूकम्प प्रभावित अन्य स्थानमा पनि राहत सामग्री वितरण गरिने बताउनुभयो ।